राजनीति

डा. देउवालाई पराजित गर्दै कैलाली-५ मा एमालेका राना विजयी

धनगढी । कैलाली निर्वाचन क्षेत्र ५ प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा(एमाले)का नारदमुनि राना विजयी भएका छन् ।

रानाले २७ हजार २०२ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस नेत्री डा आरजु देउवाले २२ हजार ३२२ मत प्राप्त गरेका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहेकी डा. आरजु देउवा एमालेका रानासँग पराजित भएपनि काँग्रेस सभापति समेत रहेका पति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुराबाट भारी मतले विजय भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले भने यसको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

निर्वाचन क्षेत्र ५ प्रदेशसभा(क)मा वाम गठबन्धन र ‘ख’ मा काँग्रेसका उम्मेदवार जीतको नजिक पुगेका छन् । प्रदेशसभाको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

राजपा निकै अघि
पछिल्लो मतगणनामा प्रतिनिधिसभा कैलाली – १ मा राजपाका रेशमलाल चौधरीले ११ हजार ८३४ मत पाउदा एमालेका मदनकुमारी शाहले दुई हजार ३३६ मतले पछ्याइरहेका छन् ।

यस्तै निर्वाचन क्षेत्र २ मा एमालेका झपट रावलले चार हजार २८३ मत पाउँदा काँग्रेसका मोहनसिंह राठौरले दुई हजार ५८९ मत प्राप्त गर्नुभएको छ । निर्वाचन क्षेत्र ३ मा नेकपा (माओवादी केन्द्र)का गौरीशंकर चौधरीले १६ हजार ५५४ मत पाउँदा काँग्रेसका रामजनम चौधरीले १३ हजार ८४७ मत प्राप्त गरेका छन्।

यस्तै निर्वाचन क्षेत्र ४ मा माओवादी केन्द्रका लेखराज भट्टले १९ हजार ५७ मत प्राप्त गर्दा काँग्रेसका सुनिलकुमार भण्डारीले १२ हजार ९४५ मत प्राप्त गर्नुभएको छ ।