राजनीति

किन फापेन उपसभापति र उपाध्यक्ष पद ? सबैले हारे चुनाव !

काठमाण्डौ । मंसिर १० र २१ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । सबै जिल्ला र प्रदेशबाट प्राप्त मतपरिणाम अनुसार बाम गठबन्धनको समग्र अग्रता देखिए पनि दुवै तर्फका केही हेभिवेट नेताहरु पराजित भएका छन् । त्यसमा पनि दुवैतर्फका पार्टीका उपसभापति र उपाध्यक्षहरु हारको संघारमा पुगेका छन् र केहीले हारिसकेका पनि छन् ।

अहिले नेपाली राजनीतिमा पार्टीभित्र उपसभापति र उपाध्यक्ष पद नफापेको हो कि जस्ता देखिन थालेको छ ।  नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सो पार्टीका बरिष्ठ नेताको रुपमा रहेपनि सभापति शेरबहादुर देउवा पछिको शक्तिशाली नेता भएकाले उनी उपसभापतिकै हैसियतका नेता हुन् । उनले तनहुँबाट चुनाव हार्ने निश्चित जस्तै भएको छ । पौडेललाई वामगठबन्धनका उम्मेद्वारले फराकिलो अन्तरले पछि पार्दै आइरहेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि गोरखाबाट चुनाव हारेका छन् । श्रेष्ठलाई नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले हराएका हुन् । त्यस्तै राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला पनि पराजित भएका छन् । शुक्लालाई कांग्रेसका उम्मेद्वार प्रमोदकुमार यादवले हराएका छन् ।
उता, एमाले उपाध्यक्ष वामदेव गौतम पनि हारको संघारमा पुगेका छन् । बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव लडिरहेका उपाध्यक्ष गौतमलाई नेपाली कांग्रेसका उम्मेद्वार सञ्जयकुमार गौतमले भारी मतान्तरले पछि पार्दै हारको नजिक पुर्याइदिएका छन् ।

यता,नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठले पनि चुनाव हारेका छन् । गोपालमान श्रेष्ठले स्याङजाबाट चुनाव हारेका हुन् । त्यस्तै विवेकशील साझा पार्टीमा पनि रविन्द्र मिश्रको पार्टी जिम्मेवारी अध्यक्ष उज्जल थापाभन्दा एक तह तल्लो तहमा पर्छ ।

विवेकशील साझा पार्टीले एकताको घोषण गरे पनि उनीहरुले पार्टीलाई सांगठनिक रुपमा घोषणा गरिसकेका छैनन् । त्यसैले मिश्र उपाध्यक्षकै हैसियतमा रहेका छन् । उनले पनि काठमाण्डौ १ बाट चुनाव हारेका छन् ।

मिश्रले कांग्रेसका प्रकाशमानसिंह सँगको प्रतिस्पर्धामा चुनाव हारेका छन् ।  त्यस्तै, राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले पनि चिवनबाट चुनाव हार्ने निश्चित भएको छ । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फराकिलो मतान्तरले पछि पारिरहेका छन् । पाण्डेको पनि हार निश्चित जस्तै भएको छ ।

यसरी मुलुकका ठुलादेखि मझौला पार्टीभित्रका उपसभापति, उपाध्यक्ष र दोश्रो तहका नेताहरुले चुनावको हारको संघारमा पुग्नु र हार्नुलाई आश्चर्यको रुपमा हेरिन थालिएको छ । यो संयोग मात्रै पनि हुनसक्छ ।