पु.समाचार

एमाले उपाध्यक्ष वामदेव लज्जास्पद हारको संघारमा, यस्तो आयो ताजा परिणाम !

बर्दिया । नेकपा एमालेका उपाध्यक्ष एवम् वर्दिया क्षेत्र नम्बर १ का उम्मेद्वार बामदेव गौतमले चुनाव हार्ने निश्चितजस्तै भएको छ ।  नेता गौतमलाई नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार रहेका सञ्जयकुमार गौतमले करिब ३ हजार मतान्तरले पछि पार्दै आएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार उपाध्यक्ष गौतमको ३४ हजार ३ सय ४६ मत प्राप्त भएको छ भने सञ्जयको ३७ हजार १ सय ५४ मत प्राप्त गरेका छन् ।  सञ्जयले क्रमशः मतान्तरलाई फराकिलो बनाउँदै लगिरहेका छन् । मतपरिणाम आउने करिब अन्तिम समयमा देखिएको यो मतान्तरले कांग्रेसका उम्मेद्वार सञ्जय विजयको सन्ननिकट पुगेका छन् ।

आइतबार अपरान्हसम्म बर्दिया–१ को मतपरिणाम सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग रहेको छ ।  मुलुकभर बाम गठबन्धनले जताततै जित हासिल गरिरहेका बेला एमालेकै उपाध्यक्ष गौतम पराजयको नजिक पुगेका छन् । उपाध्यक्ष गौतम पटक–पटक उपप्रधानमन्त्री भैसकेका नेता समेत हुन् । एमालेभित्र प्रभावशाली नेताका रुपमा रहेका गौतम बाम एकताका लागि पहल गर्ने सुत्रधार समेत हुन् ।

दशकौं लामो वाम एकताको प्रयासलाई सार्थक रुप दिएर एमाले–माओवादीलाई एउटै पार्टी बनाउन महत्वपूर्ण भूमिका खेल्न गौतमको ठूलो हात रहेको छ ।
उनकै नेतृत्वमा सम्भव भएको बाम गठबन्धनको प्यानलले नै अहिले देशभर विजय हासिल गरिरहेका बेला उनले भने चुनाव हार्ने करिब निश्चितजस्तै भएको छ ।