विशेष

यसरी बन्दैछन् सिलवाल नयाँ सरकारका गृहमन्त्री ! अब के गर्लान् अर्याल र चन्दले ?

काठमाण्डौ । आइजीपी नियुक्ति काण्डमा विवाद भएलगत्तै प्रहरी सेवाबाट राजीनामा दिएर राजनीतिमा लागेका नवराज सिलवालले अन्ततः प्रतिनिधिसभा निर्वाचनमा चुनाव जितेका छन् । प्रहरी सेवाबाट राजीनामा लिएलगत्तै एमाले प्रवेश गरेका सिलवालले ललितपुर–१ बाट चुनाव जितेका हुन् । सिलवालले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेद्वार उदयशम्शेर राणालाई पराजित गरेका थिए ।

सिलवालले २६ हजार ९ सय ४६ मत पाएका छन् भने राणाले २० हजार ७ सय २९ मत पाएका छन् । यसरी हेर्दा सिलवालले राणालाई ६ हजार २ सय १७ मतको अन्तरमा हराएका छन् । राजनीतिमा लागेको छोटो समयमै सिलवाल स्थापित नेता बन्ने बाटोमा अघि बढेका छन् ।

प्रहरी संगठनमा देखिएको विवाद र चरम राजनीतिक चलखेलको शिकार भएका सिलवाललाई एमालेले संरक्षण दिनुनै उनको भविष्यको राजनीतिक यात्रा सुरक्षित हुनु हो ।

प्रतिनिधिसभा सदस्यतर्फ चुनाव जितेपछि अब उनको संसदमा जाने बाटो खुलेको छ भने एमालेले चाह्यो भने गृहमन्त्रालय सम्हाल्ने सम्मको बाटो सिलवालले तय गर्नेछन् । यदि नवराज सिलवाल गृहमन्त्री बनेर मन्त्रालय छिरे भने उनीसँग टक्कर गर्ने प्रहरी अफिसरहरुले के गर्लान् ? राजनीतिक घटनाक्रम रोमाञ्चक बन्दै गएको छ ।

वास्तवमा नवराज सिलवालले आइजीपी हुने यात्रा तय गर्नेबेलामा प्रहरीका हालका आइजीपी प्रकाश अर्याल र एआइजी जयबहादुर चन्द प्रतिस्पर्धामा थिए । सरकारले अन्तमा अर्याललाई आइजीपी र चन्दलाई एआइजीमा बढुवा गरेपछि सिलवाल हेरेको हेर्यै भएका थिए ।

आफुमाथि अन्याय भएको भन्दै सिलवालले राजीनामा दिइरहँदा उनलाई संरक्षण गर्न एमाले कम्मर कसेर लागेको थियो । अन्ततः एमालेबाटै सिलवालले गृहराज्यमन्त्रीदेखि गृहमन्त्री बन्नेसम्मको बाटो तय गरेपछि उनको यात्रा अब थप रोमाञ्चक बन्ने देखिदैछ ।

अब के गर्लान् आइजीपी अर्याल र एआइजी चन्दले ?
नवराज सिलवालले आइजीपीमा दाबी गरिरहँदा उनको टक्कर तत्कालीन डिआइजी जयबहादुर चन्दसँग देखिएको थियो । जयबहादुर चन्द प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा निवासी हुन् । सिलवाल र चन्दको प्रतिस्पर्धाकै बीचमा तेश्रो नम्बरमा रहेका प्रकाश अर्यालले आइजीपीमा बाजी मार्न पुगेका थिए । त्यसका लागि सर्वोच्च अदालतको निर्णय भन्दा पनि सरकारको महत्वपूर्ण हात रहेको थियो ।

जेठमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएलगत्तै प्रकाश अर्याल आइजीपी भएका थिए । सर्वोच्च अदालतको आदेश र सरकारको निर्णय एकआपसमा बाजिँदा त्यसबेला विवाद समेत उत्पन्न भएको थियो, अन्ततः सिलवाल र चन्दको सट्टा अर्याल आइजीपी भएका थिए । कार्य मूल्यांकनका आधारमा आइजीपी बन्नुपर्ने आफ्नो दाबीलाई सरकारले सिधै लत्याएको दाबी गरेर सिलवालले आत्माग्लानी गर्दै प्रहरी सेवाबाट राजीनामा दिएका थिए ।

अहिले उनी संसद हुँदै गृहमन्त्री हुने बाटोको यात्रामा अघि बढेका छन् । सिलवाल गृहमन्त्री भएर सिंहदरबार छिर्ने तरखरमा रहिरहँदा आइजीपी अर्याल र चन्द के गर्दै होलान् ? त्यो भने रोमाञ्चक विषय बन्दै गएको छ । यदि एमालेले सिलवाललाई गृहमन्त्रालयको जिम्मेवारी दिएर पठाएमा अर्याल र चन्दलाई मात्र होइन शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग लगायत गृहमन्त्रायभित्र पर्ने सबै प्रशासनिक निकायहरुमाथि सिलवालको आदेश चल्नेछ ।

आइजीपीमा आफ्नो स्वाभिमान गुमेको महसुस गरेर एमालेमा लागेका उनको भाग्यमा अब गृहमन्त्री हुने संकेत प्रस्टै देखिएको छ, जुन यात्राको भविष्य अब एमाले र त्यसका अध्यक्ष केपी ओलीको हातमा रहेको छ ।

केपी ओलीको संकेत !
पछिल्लो चुनावी मतपरिणामलाई हेर्दा अब मुलुकमा एमालेको नेतृत्वमा सरकार बन्ने प्रस्टै देखिन्छ । त्यसको नेतृत्व एमाले अध्यक्ष केपी ओली वा अन्य कुनै नेताहरुले गर्न सक्छन् ।

त्यसबेला ओलीले सिलवाललाई दिएको आश्वासन बिर्सेनन् भने उनी पक्कै पनि गृहराज्यमन्त्री वा गृहमन्त्री बन्ने पक्का देखिन्छ किनभने सिलवाल एमाले प्रवेश गरेकै दिन ओलीले यो कुराको संकेत दिइसकेका थिए । उनले सिलवाललाई राम्रो अवसर दिने तयारीमा एमाले रहेको भन्ने अभिव्यक्तिले पनि यो कुराको पुष्टि हुन्छ ।