राजनीति

कांग्रेसका हेभिवट र युवा नेताहरुले अहिलेसम्म कहाँ–कहाँ हार बेहोरे ? यस्तो छ मतपरिणाम

काठमाण्डौ । मंसिर १० र २१ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणना कार्य अहिले जारी रहेको छ । पछिल्ला मतपरिणाम अनुसार बाम गठबन्धन अघि देखिएको छ भने लोकतान्त्रिक गठबन्धन कमजोर देखिएको छ ।

त्यसमा पनि नेपाली कांग्रेसका हेभिवेट नेताहरुले धेरै स्थानबाट हार बेहोरेका छन् ।  नेपाली कांग्रेसका प्रभावशाली नेताहरु डा.शेखर कोइराला, मोहन वस्नेत, युवा नेता रामहरि खतिवडा लगायतका नेताहरुले समेत हार बेहोरेका छन् भने डा.रामशरण महत, डा. प्रकाशशरण महत, अर्जुननरसिंह केसी लगायतका नेताहरु पनि निकै मतान्तरले पछि रहेका छन् ।

कोइराला परिवारका प्रभावशाली नेता डा.शेखर कोइरालालाई एमाले नेता लालबाबु पण्डितले हराएका छन् सञ्चारमन्त्री समेत रहेका मोहन बस्नेतलाई माओवादी नेता अग्नि सापकोटाले हराएका छन् ।

डा. शेखर कोइरालाले ३३ हजार २ सय ६६ मत ल्याउँदा एमालेका उम्मेद्वार पण्डितले ३३ हजार ९ सय ४१ मत ल्याएर विजयी भएका छन् । उता, सञ्चारमन्त्री बस्नेतलाई माओवादी केन्द्रका उम्मेद्वार सापकोटाले हराएका हुन् ।

कांग्र्रेसका उम्मेद्वार बस्नेतले २९ हजार ७ सय ९८ मत प्राप्त गरेका छन् भने उनलाई पछि पार्दै माओवादी केन्द्रका उम्मेद्वार सापकोटाले ४० हजार ५ सय ४ मत ल्याएर विजयी भएका छन् । यसरी झिनो मतले पराजय बेहोर्ने कांग्रेसका हेभिवेट नेताहरुको संख्या बढिरहेको छ ।

त्यस्तै कांग्रेसका युवा नेताहरुले समेत यो चुनावमा हार बेहोरेका छन् । ओखलढुंगाबाट निर्वाचन लडेका युवा नेता रामहरि खतिवडाले हार बेहोरेका छन् । उनलाई एमालेका उम्मेद्वार यज्ञराज सुनवारले पराजित गरेका छन् । खतिवडाले २७ हजार ३ सय २७ मत प्राप्त गरे भने विजयी सुनुवारले ३२ हजार ५ सय ८० मत प्राप्त गरेका छन् ।

कांग्रेसका अन्य नेताहरुको मतपरिणाम घोषणा नभएपनि अधिकांश नेताहरु निकै मतान्तरले पछि रहेका छन् । यसले कांग्रेसका अधिकांश नेताहरु हारको संघारमा पुग्ने संकेत देखिएको छ ।

उता, कांग्रेसका जिल्ला स्तरका नेताहरुले अधिकांश स्थानमा हार बेहोरेका खबरहरु सार्वजनिक भैरहेका छन् ।