पु.समाचार

दिपक मनाङे विजयी

लमजुङ । एमाले उम्मेदवारले मनोनयन फिर्ता लिएर सघाएका स्वतन्त्र उम्मेदवार दीपक मनाङे उर्फ राजीव गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले १ हजार ४ सय १० मत पाएका छन् । प्रतिद्धन्द्धी कांग्रेसका कर्म गुरुङ ३ सय ९० मतले पराजित भएका छन् । उनले १ हजार २० मत पाएका छन् । मनाङ प्रदेश ९ख० मा माथिल्लो मनाङको ७ गाविस मिलेर बनेको नेस्याङ गाउँपालिका साथै नार र फू गाविस मिलेर बनेको नारफू गाउँपालिका पर्छ । कूल ३ हजार ७ सय २ मतदाता रहेको मनाङ ९ख० मा २ हजार ४ सय ३६ मत खसेको थियो ।

एमाले उम्मेदवार खाण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिँदै राजीव गुरुङलाई समर्थन जनाएकी थिइन् । जिल्लाबाट एमालेले राजीवलाई सर्वसम्मत सिफारिस गरेपनि उनको विरोध हुन थालेपछि एमाले केन्द्रीय कमिटीले उनको नाम हटाएर खाण्डालाई आधिकारिक उम्मेदवार बनाएको थियो । मनाङेले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

हिमाली जिल्ला मनाङबाट पहिलोपटक एमाले उम्मेदवार प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । यसैबीच कांग्रेस उम्मेदवार पूर्व राज्यमन्त्री समेत रहेका टेकबहादुर गुरुङलाई २ सय ८९ मतले उछिन्दै एमालेका पोल्देन छोपाङ गुरुङ मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

बिजयी पोल्देन छोपाङले २ हजार ३ सय मत पाए । प्रतिद्धन्द्धी टेकबहादुरले २ हजार २१ मत पाएका छन् । खसेको मतमध्ये ४ हजार ३ सय २१ मत सदर भए भने १६ मत बदर भएको छ । नेपालमै सवैभन्दा कम मतदाता ५ हजार ८ सय ८१ रहेको मनाङमा ४ हजार ३ सय ३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।