राजनीति

तीन मिनेटभित्र मतदान गर्न सकिने संरचना तयार

भक्तपुर । भक्तपुरमा मतदाताले लाइनमा बसेर मतपत्र लिएको तीन मिनेटभित्र मतदान गर्न सकिने गरी मतदान केन्द्रको संरचना तयार गरिएको छ।  भक्तपुरका मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकृतहरुले लाइनमा बसेका मतदाताले सबै प्रमाण देखाइसकेर निर्वाचन कर्मचारीबाट मतपत्र लिइसकेपछि तीन मिनेटभित्र प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको दुई र समानुपातिकको एक गरी तीन मतपत्र तीन मिनेटमा मतदान गर्न सकिने गरी मतदान केन्द्रको संरचना तयार गरिएको बताएका हुन्।

उनीहरुले यो समय ज्येष्ठ नागरिकको लागिमात्रै भएको बताए। ‘युवा तथा सक्षम मतदाताहरुले करिब डेढ मिनेटमै तीनवटै मतपत्रमा छाप लगाइसकेर मतदान गरिसक्छन्’, भक्तपुर नपा ५ तालाक्व पाटीस्थित ख मतदान केन्द्रका अधिकृत रविचन्द्र मिश्रले भने।

उनले लाइनमा बसेर पहिलो मतपत्र लिएपछि अन्यत्र कतै अलमल नहुने हुँदा मतदान कार्यमा ढिलाइ नहुने सुनाए। ‘सुरुको मतपत्र लिएपछि मतदाताले सहजै रुपमा बाँकी दुई मतपत्र लिएर मतदान गर्न सकिने मतदान केन्द्रको संरचना तयार गरेका छौं’, उनले भने, ‘भक्तपुरका दुई सय नौवटै मतदान केन्द्रम यही संरचनामा तयार भएका छन्। मतदान सकेपछि मतदातालाई सहजै बाहिरिने व्यवस्थासमेत गरेका छौं।’

बुधबार भक्तपुरका मतदान केन्द्रहरुको संरचना तयार भए नभएको अनुगमन निरीक्षण गरेका निर्वाचन आयोगका सहसचिव पद्म पाण्डे र भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले पनि भक्तपुरका मतदान केन्द्रहरुको संरचना हेर्दा धेरै सहज रुपमा मतदाताहरुले मतदान गर्न सक्ने देखिएको प्रतिक्रिया दिए।

‘मतदान केन्द्रको संरचना र सुरक्षा प्रवन्ध धेरै राम्रो पायौं’, निर्वाचन आयोगका सहसचिव पाण्डेले भने, ‘भक्तपुर नगर क्षेत्रका साँघुरा मतदान केन्द्रमा पनि राम्रो व्यवस्थापन गरेको पायौं।’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी पोखरेलले सामान्य मतदातालाई कम्तीमा डेढ मिनेटभित्र तीनवटै मतपत्रमा छाप लगाएर खसाल्ने प्रवन्ध गर्न निर्वाचन अधिकृतहरुलाई निर्देशन नै दिइएको बताए।

‘मतदान केन्द्रको तयार भएको संरचना हेर्दा पनि सामान्य मतदाताले एकदेखि डेढ मिनेटभित्र मतदान गर्न सकिने देखिएको छ’, उनले भने, ‘ज्येष्ठ नागरिकलगायतलाई भने बढीमा तीनमिनेट लाग्ने अनुमान गरेका छौं।’ उनका अनुसार भक्तपुरका सम्पूर्ण मतदान केन्द्रमा बुधबार नै मतपत्र पुर्‍याइसकेको छ। उनले मतदातालाई घरदेखि मतदान केन्द्र र मतदान केन्द्रदेखि घरसम्मको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएकाले बिहीबार निर्धक्क भएर मतदान गर्न पुनः आह्वान गरेका छन्।

बिहीबारको अन्नपूर्णमा लेखिएको छ,  भक्तपुरमा कूल एक लाख ७८ हजार ९९ मतदाता रहेका छन्। जसअनुसार क्षेत्र नं. १ मा ९४ हजार एकसय ६४ र क्षेत्र नं २ मा ८३ हजार नौसय ३५ मतदाता रहेका छन्। दुई निर्वाचन क्षेत्र र चार प्रदेश निर्वाचन क्षेत्र रहेको भक्तपुरमा ७८ मतदान केन्द्रमा दुई सय नौ वटा मतदान स्थल रहेका छन्।