पु.समाचार

कुन नेताले कहाँबाट मतदान गर्दैछन् ? (नामसहित)

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रमुख दलका शीर्ष नेताहरूले विभिन्न ठाउँबाट मतदान गर्दैछन् । अधिकांश नेताहरूले बिहान मतदान गर्ने समय तय गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

देउवा बिहीबार नै काठमाडौं फर्कने उनका निजी सचिव केशव जोशीले बताए । देउवाले डडेलधुराबाटै प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । चुनावको तयारी गर्न देउवा केही दिनदेखि डडेलधुरामा छन् ।

बिहीबारको नागरिकमा लेखिएको छ, एमाले अध्यक्ष केपी ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ महेन्द्रशान्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । उनले झापा–५ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । उनले आफ्नो आफूलाई भोट दिन पाउने छैनन् ।

एमालेका अर्का नेता माधव नेपालले रौतहटको गौर नगरपालिकास्थित रामजनकी मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । उनी काठमाडौं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनले पनि आफ्नो भोट आफैंलाई दिन पाउने छैनन् ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । उनले तनहुँ–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । पौडेलले बिहीबार बिहान मतदान गर्ने कार्यक्रम तय भएको उनका सहयोगी चिरञ्जीवी अधिकारीले बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । उनी चितवन–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।

यसैगरी माओवादी केन्द्रका नेता रामबहादुर थापाले चितवनको भरतपुर महानगरपालिकाबाट मतदान गर्ने भएका छन् । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले ललितपुर–३ बाट मतदान गर्ने भएकी छन् । उनले ललितपुर–३ बाट प्रतिनिधिसभामा उम्मेदवार दिएकी छन् ।

एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामको सूर्योदय नगरपालिकाबाट मतदान गर्ने भएका छन् । खनालले प्रतिनिधिसभा निर्वाचनमा इलाम–१ बाट उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले झापाको भद्रपुर नगरपालिकाको कलबलगुडी मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । सिटौलाले झापा–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पनि आफ्नो भोट आफैंलाई दिन पाउने छैनन् । उनले प्रतिनिधिसभा निर्वाचनमा दाङ–२ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । मतदाता सूचीमा उनको नाम भने रोल्पामा रहेको छ । पहिलो चरणअन्तर्गत रोल्पामा मतदान सम्पन्न भएको छ ।

संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पनि आफ्नो भोट आंफैलाई  दिन पाउने छैनन् । यादवले सप्तरी–२ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । उनले भोट विराटनगर महानगरपालिका–१४ जुतुवाबाट मतदान गर्ने भएका छन् ।

महोत्तरी–३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका ठाकुरले सर्लाहीको बलरा नगरपालिकाबाट मतदान गर्ने भएका छन् । महतोले सर्लाहीको चन्द्रननगर–२ बाट मतदान गर्ने भएका छन् । महतोले धनुषा ३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् ।

राजपाका अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीले भने आफ्नो भोट आफूलाई दिनेछन् । उनले महोत्तरीको औरही–१ बाट मतदान गर्ने भएका छन् ।

सुदूरपश्चिममा को कहाँबाट ?

धनगढी । बिहीबार हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमाले उपाध्यक्ष भीम रावलले गृहजिल्ला अछामको साँफेबगर–६ स्थित चन्द्रोदय मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् । उनी अछाम–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । माओवादी केन्द्रका नेता एवं कैलाली क्षेत्र नम्बर ४ मा प्रदेशसभा उम्मेदवार लेखराज भट्टले गोदावरी नगरपालिका–१ अत्तरियास्थित घन्टेश्वरी मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

यस्तै कांग्रेस नेता रमेश लेखकले गृहजिल्ला कञ्चनपुरको वेदकोट–८ स्थित बैजनाथ मावि मतदान केन्द्र र कांग्रेसकै अर्का नेता एनपी सावदले भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित सरस्वती मावि मतदान केन्द्रबाट मतदान गर्दैछन् । लेखक क्षेत्र नम्बर ३ र सावद क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।

निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिस्पर्धी माओवादी पोलिटब्युरो सदस्य खगराज भट्टले डडेल्धुरा अयजमेरु–४ स्थित चिपुर मतदान केन्द्रबाट मतदान गर्नेछन् । कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेस नेता रामजनम चौधरीले भने आफूलाई मत हाल्न पाउने छैनन् ।

उनले गृहक्षेत्र पर्ने क्षेत्र नम्बर १ अन्तरगत जोशीपुर गाउँपालिका–४ स्थित राष्ट्रिय मावि डहरबेडिया मतदान केन्द्रबाट मतदान गर्नेछन् । कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्वमन्त्री एवं माओवादी नेता गौरीशंकर चौधरीले बसौटी स्वास्थ्य चौकी मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार बनेकी आरजु राणा देउवाले मतदान गर्न पाउने छैनन् । गृहजिल्ला डडेल्धुरामा मतदाता नामावलीमा नाम रहे पनि उनी निर्वाचनको दिन यहीं रहने कांग्रेस कैलालीले जनाएको छ ।