पु.समाचार

पैँतालिस जिल्लामा निर्वाचन– सुरु भयो मतदान प्रक्रिया

काठमाडौ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दोस्रो चरणमा बिहीबार मुलुकका ४५ जिल्लामा मतदान शुरु भएको छ । प्रतिनिधिसभा सदस्यका लागि १२८ र प्रदेशसभाका लागि २५६ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण तवरले मतदान शुरु भएको हो ।

निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले तोकेको छ । दोस्रो चरणको यस निर्वाचनमा सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने अपेक्षा गरिएको छ ।

यसअघिको निर्वाचनमा भन्दा यसपटक बढी मतदाताले मतदान गर्ने अनुमान गरिएको छ । यही मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो । आजको निर्वाचनमा ७५ प्रतिशत मत खस्ने अनुमान गरिएको छ ।

निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि लागि दुई हजार ८१९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

त्यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदका लागि पाँच हजार ८३८ उम्मेदवार निर्वाचनमा होमिएका छन् । आज प्रदेश नं १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा मतदान हुँदैछ ।

त्यसैगरी, प्रदेश नं ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर, प्रदेश नं ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वतमा पनि मतदान शुरु भएको हो ।

प्रदेश नं ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया, प्रदेश नं ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि मतदान हुँदैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा.आरजु देउवा राणाले यस निर्वाचनमा डडेल्धुराको रुवाखोलास्थित शशिग्राम माविको मतदान केन्द्रबाट मतदान गर्नेछिन् ।

पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

त्यस्तै, पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले भरतपुर महानगरपालिका वडा नं १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्दैछन् ।