पु.समाचार

निर्वाचन अनुगमनका लागि उच्चस्तरीय अनुगमन टोली गठन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचन अनुगमन कार्यलाई थप प्रभावकारी र विश्वसनीय बनाउन आयोगका अध्यक्ष अनुपराज शर्माको नेतृत्वमा उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ ।

शर्माको नेतृत्वमा मानवअधिकारकर्मी, महिला अधिकारकर्मी, नागरिक समाज, कानून व्यवसायी संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्वस्थायी प्रतिनिधि संलग्न रहेको उच्चस्तरीय अनुगमन टोली गठन गरिएको हो ।

आयोगका प्रवक्ता मोहना अन्सारीका अनुसार टोलीले काठमाडौँ उपत्यकालगायत आवश्यकताअनुसार अन्य स्थानसमेतको अनुगमन गर्नेछ ।

आयोगले निर्वाचन सुरक्षा व्यवस्था तथा मानवअधिकारको उचित सम्मान र संरक्षणका लागि भएका प्रयासबारे आजै आयोग र सरकारका गृहसचिव तथा सुरक्षा निकायका प्रमुखबीच छलफल गरेकोे छ ।

छलफलमा आयोगका अध्यक्ष शर्माले निर्वाचनलाई शान्तिपूर्ण तथा मानवअधिकारमैत्री बनाउन सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने भन्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउनका लागि समर्पित रहन सुरक्षा निकायका प्रमुखलाई आग्रह गरे ।

उनले मतदाता सुरक्षा व्यवस्थाप्रति आश्वस्त हुनसके मात्र मतदान प्रक्रिया विश्वसनीय र सफल हुने बताए ।

छलफलका क्रममा गृहसचिव मोहनकृष्ण सापकोटाले निर्वाचन सुरक्षा व्यवस्था मानवअधिकारको प्रत्याभूति हुने ढंगबाट गरिएको बताए ।