पु.समाचार

राजदूत सुन्दास र श्रममन्त्री हमाइदान बीच भेटवार्ता

काठमाडौँ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले त्यहाँका श्रम तथा सामाजिक मन्त्री जमिल बिन मोहम्द अली हमाइदानसँग उनकै ‘वेस्ट टावर’ स्थित कार्यकक्षमा भेटवार्ता गरे ।

उक्त अवसरमा मन्त्री हमाइदानले बहराइने श्रम तथा सामाजिक विकासको सम्बन्धमा लिएको नीति तथा अभ्यासमाथि प्रकाश पारेको मनामास्थित नेपाली दूतावासले जनाएको छ ।

सोमबार भएको भेटका क्रममा मन्त्री हमाइदानले बहराइन ‘गल्फ अरवियन’ राष्ट्रहरूमा कुनै पनि विभेद अन्त्य गर्ने मामिलामा नमूना राष्ट्रका रूपमा स्थापित हुने प्रयासमा रहेको जानकारी दिए । बहराइनले प्रत्येक व्यक्तिले सम्मानजनक व्यवहार पाउनुपर्छ भन्ने प्रत्याभूति गर्न चाहिरहेको उनको भनाइ छ । त्यसैगरी उनीले बहराइन श्रम अधिकारको संरक्षण गर्न पनि प्रतिबद्ध रहेको जानकारी दिए ।

राजदूत सुन्दासले बहराइनले त्यहाँ रहेका नेपाली नागरिकप्रति देखाएको सहयोग र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै दुई राष्ट्रबीच सन् २००८ मा श्रमसम्बन्धी भएको सहमति पत्रलाई अद्यावधिक तथा समयानुकूल संशोधन गर्न प्रस्ताव गरे ।

राजदूत सुन्दासले दुई देशबीच श्रमसम्बन्धी संयुक्त प्राविधिक समिति गठनका लागिसमेत प्रस्ताव गरे । सोही अवसरमा दूतावासका उपप्रमुख खगराज पाण्डेय र श्रम सहचारी जगदीशचन्द्र शिवाकोटीको पनि उपस्थिति रहेको थियो ।