उर्जा

बरम्ची खोला आयोजनाबाट विद्युत उत्पादन सुरु

चौतारा । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको बरम्ची साना जलविद्युत आयोजनाबाट ३१ महिनापछि पुनः उत्पादन सुरु भएको छ ।

खोलामा पानी घटेको कारण हाल १ दशमलब ८ देखि २ मेगावाट विद्युत उत्पादन भइ लामोसाँघुस्थित सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजना प्रमुख एम थापाले जानकारी दिए ।

निजी क्षत्रको युनिक हाइडेल प्रालिद्वारा निर्माण भएको सो आयोजना ४ दशमलब २ मेगावाट क्षमताको छ । जुगल गाउँपालिकाअन्तर्गत साविक बरम्ची गाविसस्थित बरम्ची खोलामा सञ्चालित क्षतिग्रस्त सो आयोजनालाई मर्मत गरी २०७३ साउन ४ गते सञ्चालनमा ल्याइए पनि बाढी र पहिरोले तीन दिनपछि आयोजनालगायत सर्वसाधारणको कैयौं रोपनी जग्गा जमिन समेत पुरेको थियो ।

भू–गर्भविद्का अनुसार पेनस्टक पाइप राखिएको स्थान कमजोर भू–भाग भएका कारण करिब २५० मिटर सुरुङ मार्ग निर्माणको लागि अध्ययन गर्ने सोचाइ भइरहेको आयोजना प्रमुख थापाले बताए ।

लामो समयसम्म आयोजना बन्द भई पटकपटक मर्मत गर्नु पर्दा आयोजनाले करोडौँ घाटा बेहार्नुपरेको बताइएको छ ।