राजनीति

कसले पड्काइरहेको छ बम ? सुरक्षा निकाय किन पर्यो अलमलमा ? यस्तो छ कारण !

काठमाण्डौ । मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन आउन अब २ दिन मात्र बाँकी रहेको छ । निर्वाचनको पूर्वसन्ध्यामा मौन अवधि सुरु भएपनि पछिल्ला हप्तादेखि हुने गरेका श्रृंखला बम आक्रमणका घटनाले जताततै त्रास पैदा गरिदिएको छ । दैनिक दर्जनको हाराहारीमा बम आक्रमण र विष्फोटका घटनाहरु भैरहेका छन् । नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका दर्जनौ नेता र उम्मेद्वारहरुमाथि बम आक्रमण भैसकेको छ ।

जताततै उम्मेद्वारहरु घाइते भइरहेका छन् । सोमबार अपरान्ह नेपाली कांग्रेसका युवा नेता गगन थापालाई लक्षित गरेर बम विष्फोट गराइयो । काठमाण्डौ क्षेत्र नम्बर ४ का उम्मेद्वार समेत रहेका थापासहित एक दर्जन कार्यकर्ताहरु घाइते भए । करिब एक महिनादेखि श्रृंखलाबद्ध बम आक्रमणहरु भैरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानिलकण्ठदेखि निर्वाचन क्षेत्रहरुमा समेत बम विष्फोटका घटनाहरु भैरहेका छन् ।

उपत्यकाका काठमाण्डौ, भक्तपुर र ललितपुरमा समेत बम भेटिने र विष्फोट हुने श्रृंखला बढिरहेको छ । भक्तपुरमा एमालेका युवा नेता महेश बस्नेतको घरमा बम राख्नेदेखि एमाले अध्यक्ष केपी ओली निवासछेउको टोलमा समेत बम भेटिएको छ । यी यावत घटनाहरुलाई हेर्दा समग्र मुलुक अहिले त्रासमा देखिएको छ । प्रहरी प्रशासनले सुरक्षा व्यवस्थालाई चुस्त बनाउने कोसिस गरे पनि त्यसको प्रभाव देखिएको छैन ।

वास्तवमा बम विष्फोटका घटनाहरुमा कसको हात रहेको छ ? यसको जिम्मेवारी कसैले लिएको छैन । सरकारले बम विष्फोटका घटनाबारेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी नेकपामाथि आशंका गरेपनि त्यसको पुष्टि गर्ने आधार देखिएको छैन,किनभने सो पार्टीले यी घटनाको आधिकारिक रुपमा जिम्मेवारी लिएको छैन । त्यसो भए निर्वाचनको मुखमा यसरी बम पड्काउने अदृष्य आतंकवादी शक्ति कुन हो ? यो बारेमा अनुसन्धान भैरहेको प्रहरीको दाबी भएपनि अहिलेसम्म सप्रमाण फेला पर्न सकेको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बम विष्फोट गराउने कार्य आपराधिक कार्य भएको भन्दै सो कार्यमा सहभागीहरुलाई कडा कार्वाही गर्ने बताउँदै आएका छन् । तर सरकार समेत अलमलमा परेको देखिन्छ ।

किन अलमलमा पर्यो सरकार ? यस्तो छ कारण
पछिल्लो समयमा बम विष्फोटका घटनाहरु बढ्नुमा सुरक्षा संयन्त्र कमजोर भएको मात्र नभई चुनावमा सुरक्षाकर्मीको व्यवस्थापन गर्दाको कमजोरीले पनि यसमा प्रभाव परेको देखिन्छ । वास्तवमा अहिले धेरै सुरक्षाकर्मी देशभर छरिएर रहेका छन् ।

काठमाण्डौ उपत्यकामा त धेरै स्थानमा म्यादी प्रहरीले पहरा दिइरहेका छन् । म्यादी प्रहरीको भरमा सुरक्षा व्यवस्था चलाइरहेको सरकारले छापामार ढंगले विष्फोट गराउने समुहलाई नियन्त्रण लिन हम्मे–हम्मे पर्नु स्वभाविक पनि हो ।

त्यस्तै सुरक्षा निकायबीचको समन्वय हुन नसक्नु पनि अर्को कमजोरी हो । त्यस्तै घटनामा संलग्न रहेको आशंका गरिएको विप्लव नेतृत्वको नेकपालाई हेर्ने दृष्टिकोण समेत स्पष्ट नहुनुले सुरक्षा व्यवस्था फितलो भएको अनुमान गर्न सकिन्छ ।