राजनीति

प्रदेश नम्बर २ को पर्सामा यस्तो छ निर्वाचनको तयारी

वीरगञ्ज । मंसिर २१ गते हुने आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पर्सा जिल्लामा पूरा भएको निर्वाचन अधिकृतको कार्यालय पर्साले जनाएको छ ।

जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिकामा ३५१ मतदान केन्द्र र १६७ मतदानस्थल रहेको छ भने आउँदो २१ गते हुने निर्वाचनलाई आवश्यक पर्ने मतपेटिका, मतपत्रलगायतका निर्वाचन सामग्री लिएर कर्मचारी आ–आफ्नो मतदान केन्द्र तथा मतदानस्थलतर्फ जाने क्रम जारी रहेको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले बताए ।

मतदान केन्द्रमा तीन हजार ५०० कर्मचारी खटाएको प्राप्त समाचारमा जनाइएको छ । सो निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए ।

एक लाख २४ हजार ४०९ महिला तथा १६ जना तेस्रो लिंगीसहित पर्सा जिल्लामा दुई लाख ९९ हजार ५४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।

प्राप्त तथ्यांकअनुसार पर्सा क्षेत्र नं १ प्रतिनिधिसभाको लागि ६७ हजार ४०५ मतदाता रहेका छन् भने सोही क्षेत्रको प्रदेशसभाअन्तर्गत क मा ३२ हजार ५५९, ख मा ३४ हजार ८४६ मतदाता रहेका छन् ।

यसैगरी क्षेत्र नं २ को प्रतिनिधिसभामा ७३ हजार १२ मतदाता छन् भने प्रदेशसभाअन्तर्गत ‘क’ मा ३५ हजार ६४४ र ‘ख’ मा ३७ हजार ३६८ मतदाता रहेका छन् ।

यस्तै पर्सा क्षेत्र नं ३ मा प्रतिनिधिसभाअन्तर्गत ७४ हजार १६६ मतदाता रहेको छ भने प्रदेशसभाको ‘क’ मा ३६ हजार ७८१ र ‘ख’ मा ३७ हजार ३८८ मतदाता रहेका छन् ।

त्यस्तै क्षेत्र नं ४ को प्रतिनिधिसभामा ७४ हजार ४७१ मतदाता छन् भने प्रदेशसभाअन्तर्गत ‘क’ मा ३५ हजार ९७३ र ‘ख’ मा ३८ हजार ४९८ मतदाता रहेका छन् ।

पर्सा जिल्लामा चारवटा प्रतिनिधिसभा र आठ प्रदेशसभाको लागि १७६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । जसअन्तर्गत चार प्रतिनिधिसभाका लागि ६४ जना र आठ प्रदेशसभाको लागि १४४ जनाले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साले जनाएको छ ।

प्राप्त तथ्यांकअनुसार पर्साको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाको लागि २२ जना, प्रदेशसभाको लागि २४ जना, क्षेत्र नं २ मा प्रतिनिधिसभाको लागि १४ जना र प्रदेशसभाको लागि ३४ जना, क्षेत्र नं ३ मा प्रतिनिधिसभाको लागि १४ जना र प्रदेशसभाको लागि ४३ जना तथा क्षेत्र नं ४ मा प्रतिनिधिसभाका लागि १३ जना र प्रदेशसभाको लागि ४० जना उम्मेदवार मनोनयन दर्ता गराएको छ ।

कुल मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये ७८ जना उम्मेदवार स्वतन्त्र रहेका छन् । जसमध्ये दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

आज मध्यरातदेखि मौन समय शुरु हुने भएपछि आआफ्नो उम्मेदवारी दिएका राजनीतिक दलका नेताहरु अहिले गाउँगाउँ गएर चुनावी प्रचारप्रसार अभियानलाई मूर्तरुप दिएका छन् ।

प्रचारप्रसारको क्रममा उम्मेदवार मधेशीको हकअधिकार सुनिश्चित गराउने, बेरोजगारी हटाउने, स्थायी शान्ति स्थापना गर्ने, देशको समृद्धिका लागि यो पटकको चुनाव महत्वपूर्ण भएको भन्दै यस्ता काम पूरा गर्न पर्सावासीसमक्ष आइपुगेको उल्लेख गरेका छन् ।