राजनीति

विनोद चौधरीको चुनावी अभियानः ‘कांग्रेसको पक्षमा यसरी बढाउँदैछन् ह्वात्तै प्रभाव !’

नवलपरासी । केही हप्ताअघि नेपाली कांग्रेसमा प्रवेश गरेका उद्योगपति विनोद चौधरी यसबेला निकै व्यस्त रहेका छन् । उद्योगपति चौधरी यसबेला नवलपरासीका घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । कांग्रेस महामन्त्री डा.शशांक कोइरालासँगै चुनावी कार्यक्रममा व्यस्त रहेका चौधरीले मतदाताहरुलाई आर्थिक समृद्धिको सपना बाँड्दै हिडेका छन् ।

नेपालकै नम्बर वान अर्बपतिको सूचीमा परेका चौधरीले बाँडेका आश्वासनहरुलाई सर्वसाधारणहरुले पत्याएका छन् । उनले बाँड्ने सपनाहरुलाई परासी लगायतका जिल्लाका जनताहरुले पत्याउने पनि गर्छन् किनभने उनले यसअघि ती जिल्लामा निर्माण गरेका चौधरी ग्रामदेखि औधोगिक विकासका कार्यक्रमहरुलाई मध्यनजर गर्दा पनि उनले चुनावी महोललाई आफ्नो पक्षमा पार्ने हैसियत राख्छन् । त्यसैले यो चुनावमा चौधरीको व्यस्तता र प्रभावले पनि डा.कोइरालालाई निकै ठूलो प्रभाव पारिरहेको कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरु बताउँछन् ।

आइतबार मात्र चौधरी परासीको बुद्धचोक तथा नवलपुरको कावासोतीमा आयोजित कार्यक्रममा सहभागी भए भने नवलपुरकै दलदलेमा घरदैलो अभियानमा पनि जुटे । कांग्रेस महामन्त्री एवम् प्रतिनिधिसभाका लागि त्यस क्षेत्रका उम्मेद्वार डा।कोइरालासँगै उनी घरदैलो अभियानमा सहभागी हुँदा कांग्रेसको पक्षमा माहोल देखिइरहेको छ ।

निर्वाचनको मौन अवधिमा चुनाव प्रचारमा सहभागी हुन नपाइने भएकाले भ्याइ–नभ्याइ गरी कार्यक्रममा सहभागी हुनु परेको चौधरीले बताइरहेका छन् । धेरै स्थानमा पुग्न मन भएपनि समयको पावन्दीले सम्भव नभएको चौधरीले दाबी छ ।

आइतबार परासीमा आयोजित कार्यक्रममा बोल्दै उनले आर्थिक समृद्धि र विकासको अभियानमा नेपाली कांग्रेस अगाडि बढिसकेको ठोकुवा गरे । कार्यक्रममा बोल्दै उनले आफ्नो अमूल्य मत दिएर जिताउन मतदातालाई आग्रह समेत गरे । आर्थिक समृद्धिको सपना लोकतन्त्रमा मात्र साकार पार्न सकिने र त्यसको नेतृत्व नेपाली कांग्रेसले मात्र गर्ने उनले बताए ।

२०४८ सालमा नेपाली कांग्रेसले लिएको आर्थिक उदारीकरणको नीतिले २०५१ सालसम्मको अवधिमा नेपालमा उल्लेख्य ढंगले विकास भएको उदाहरण प्रस्तुत गर्दै कांग्रेसले आफूलाई राजनीतिमा सफल प्रमाणित गरिसकेको उनको दाबी थियो ।

केही हप्ता अघि एमाले त्यागेर कांग्रेस प्रवेश गरेका उनलाई कांग्रेसले महत्वपूर्ण जिम्मेवारी दिइसकेको छ । उनी सो पार्टीको समानूपातिकतर्फको उम्मेद्वार समेत रहेका छन् । परासीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले २०४६ सालपछिको अवधिमा भएको सरकार परिवर्तन र राजनीतिक अस्थिरताका बाबजुद पनि आर्थिक एवं सामाजिक क्षेत्रमा नेपालले गर्दै गएको सुधार कांग्रेसले लिएको सोही नीतिको परिणाम भएको उनले दाबी गरे ।

कावासोतीमा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेसले हालै सार्वजनिक गरेको सामाजिक र आर्थिक विकासको मार्गचित्रले भविष्यको समृद्ध नेपालको खाका कोरेको भन्दै यसको सफल कार्यान्वयनका लागि कांग्रेसको विकल्प खोज्न नहुने दाबी गरे । चौधरी संयोजक रहेको नेपाली कांग्रेसको आर्थिक समृद्धि विकास समन्वय उपसमितिले सामाजिक एवं आर्थिक मार्गचित्र तयार गरी सार्वजनिक गरिसकेको छ ।

चौधरीलाई यसरी उडाउन खोजेका थिए बामहरुले !
नेपालका नम्बर वान उद्योगपतिका रुपमा रहेका चौधरी निकै समय एमालेमा रहेर काम गरे । उनीमाथि लाग्ने गरेका कर छली लगायतका आरोपलाई तत्कालीन एमाले अर्थमन्त्री भरतमोहन अधिकारी लगायतका नेताहरुले मत्थर पार्ने काम गरेका थिए । तर उही एमाले अहिले उद्योगपति चौधरीमाथि अनावश्यक रुपमा कर छली गरेको आरोप लगाउँदै आएको छ ।

आफ्नो पार्टीमा रहँदा सबै राम्रो अन्य पार्टीमा जाँदा अनावश्यक ढंगले लाञ्छना लगाउनुलाई नेपाली राजनीतिमा देखिने स्वभाविक चरित्र हुने गरेको छ । यद्यपि, चौधरीले वाम गठबन्धनले लगाएको आरोपलाई खण्डन गर्दै आएका छन् ।

चौधरीले अहिलेका चुनावी सभाहरुमा समेत वाम गठबन्धनले लगाएको आरोपको बेवास्ता गर्दै आर्थिक विकासको मोडलमा कांग्रेसलाई साथ दिनुपर्ने दाबी गर्दै आइरहेका छन् । चौधरीको प्रभावले कांग्रेसको चुनावी अभियानमा समेत ठूलो प्रभाव परिरहेको बताइन्छ ।

उनी सोमबार सुनसरी, रुपन्देही लगायतका जिल्लामा पुगेर कांग्रेसको पक्षमा माहोल तताउँदै छन् ।