राजनीति

राजेश हमाल र आयुक्त शर्मालाई एमालेले गगन थापाको पक्षमा भोट मागेको आरोप लगाएपछि…..!

काठमाण्डौ । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गर्दै यसबेला एउटा महत्वपूर्ण कार्यक्रम टेलिभिजनमार्फत प्रसारण गरिरहेको छ । मुलुकका शीर्ष नेताहरु को कहाँबाट चुनाव लड्दैछन् भन्ने प्रश्नहरुलाई समावेश गरेर आयोगले हाजिरीजवाफ (क्विज कार्यक्रम)सञ्चालन गरिरहेको छ ।

राजनीतिक क्षेत्रमा युवादेखि सबै खालको तप्कालाई शिक्षा दिने उद्धेश्यले प्रसारित सो कार्यक्रम र त्यसमा समावेश पात्रहरुका विषयमा अहिले एउटा विवाद बाहिर आएको छ । उक्त हाजिरीजवाफ कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवादेखि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसम्मले कुन ठाउँबाट चुनाव लड्दैछन् भन्ने प्रश्नहरु समावेश छन् ।

भाग–७ सम्म निर्माण गरिएको सो निर्वाचन शिक्षा कार्यक्रममा कांग्रेस युवानेता गगन थापादेखि एमाले युवा नेता योगेश भट्टराईसम्मले कुन जिल्ला र निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछन् भन्ने प्रश्नहरु समावेश छन् । तर यही बिन्दु अर्थात कांग्रेस नेता गगन थापाको भागमा आइपुगेपछि उनको पक्षमा मुलुकका लोकप्रिय नायक राजेश हमाल र आयोगकै आयुक्त इला शर्माले भोट मागेको भन्दै एमाले लगायतका दलहरुले निर्वाचन आयोगमा पत्र लेखेका थिए ।

थापाको पक्षमा भोट मागेको र प्रचार गरेको आरोप लगाउँदै एमाले लगायतका दलहरुले पत्र लेखेपछि आयुक्त शर्माले त्यसको ठाडै इन्कार गरेकी छन् । उनले मुलुकका ठूला राजनीतिक दल र त्यसको नेतृत्वले आफ्नो पेशागत मर्यादामाथि नै अनावश्यक लाञ्छना लगाएको आरोप लगाएकी छन् ।

गगन थापाको पक्षमा महानायक हमाल र आफुले प्रचार नगरेको प्रस्ट पार्दै उनले आयोगको सचिचवालयले दिएको जिम्मेवारी मात्र आफूले निर्वाह गरेको स्पष्ट पारेकी छन् । यद्यपि, निर्वाचन आयोगले समेत यो विषयमा विज्ञप्ति जारी गरिसकेको छ ।

आयोगले मतदाता शिक्षा कार्यक्रम अन्तर्गत युवा पुस्तालाई निर्वाचनमा रुची एवम् सहभागिता बृद्धि गर्ने तथा निर्वाचन,लोकतन्त्र र राजनीतिक दलहरुको नेतृत्वको बारेमा जानकारी गराउने उद्धेश्यले इलेक्सन क्विजको आयोजना गरेको प्रस्ट पारेको छ ।

आयोगको यो प्रस्टीकरणले पनि महानायक हमाल र शर्माले गगनको पक्षमा मत नमागेको प्रस्ट हुन्छ । आयुक्त शर्माले एमाले लगायतका दलहरुको यो कदमले लोकतान्त्रिक संवैधानिक संस्थाहरु र लोकतन्त्रलाई संस्थागत गर्ने मुख्य स्तम्भलाई कमजोर पार्ने षडयन्त्र भएको आरोप लगाएकी छन् ।

शर्माले यो कदम आफ्नो नैतिक बललाई नष्ट गर्ने दुष्प्रयास भएको आरोप लगाउँदै यसले आफ्नो आत्मबल गिरेको नभई अझै बढाएको विश्वास लिएकी छन् ।

यस्तो छ शर्माले जारी गरेको विज्ञप्ति

“राजेश हमाल र इला शर्माले गगन थापालाई भोट मागेको, प्रचार गरेको” भन्दै कारबाही गर्न माग गरी जारी गरिएको मुलुकको एउटा ठुलै राजनीतिक दलको विज्ञप्ति एवं आयोगलाई लेखेको पत्रले स्वतन्त्र र भयरहित भई आयोग र आयुक्तले काम गर्ने वातावरण धमिल्याएको छ ।

स्मरण रहोस्, कार्यविभाजन गर्दा मतदाता शिक्षा समितिको संयोजक म भएतापनि मतदाता शिक्षाको हरेक निर्णय या त पूर्ण आयोगले गर्दछ अथवा आयोगले delegate गरेको कार्य सचिवालयको कर्मचारीले कार्यान्वयन गर्दछन्. एउटा मात्र आयुक्तले कुनै पनि निर्णय गर्न मिल्दैन, हुँदैन र कहिल्यै पनि गर्दैनन् ।

टेलिविजनमा प्रसारित भै रहेका निर्वाचन क्विज़को एक मात्र उद्देश्य युवा पुस्तामा राजनीतिप्रति चासो जगाउनु र मतदानमा युवा सहभागिता प्रोत्साहन गर्नु हो र यो सचिवालयबाट प्रस्ताव गरिएको र पूर्ण आयोगले स्वीकृत गरेको कार्यक्रम हो. सात एपिसोडको यस क्विज़मा उम्मेदवारहरुको निर्वाचन क्षेत्रसम्बन्धी ३X७ गरी जम्मा २१ प्रश्न रहेछन् जसमा संचार माध्यममा नाम चलेका २१ उम्मेदवारका नाम randomly प्रयोग गरिएका रहेछन्।

त्यसैले आधारहीन आरोप लगाई, एउटा आयुक्तलाई मात्र लक्षित गरी अनावश्यक दबाव सृजना गर्नु सर्वथा अवान्छनीय एवं निर्वाचन आयोग र आयुक्तलाई कम्जोर पार्ने दुष्प्रयास हो. त्यसमाथि troll प्रयोग गरेर सामाजिक संजालमा सार्वजनिक बेइज़्ज़ति गर्नु पक्कै लोकतान्त्रिक अभ्यास होइन ।

मेरो पेशागत integrity र performanceमा लान्छना लगाई मैले रात-दिन नभनी मुलुक, लोकतन्त्र र नागरिकको मताधिकारका लागि आयुक्तको भूमिकामा गरेको कामको अवमूल्यनको दुष्प्रयासले मलाई अवश्य हतप्रभ बनाएको छ तर लोकतान्त्रिक संवैधानिक संस्थाहरु, झन् लोकतन्त्रलाई संस्थागत गर्ने मुख्य स्तम्भलाई कम्जोर पार्ने षड्यन्त्रले र मेरो नैतिक बललाई नष्ट गर्न खोज्ने यस्तो दुष्प्रयासले मलाई थप उर्जा प्रदान गरेको छ, मेरो आत्मबल अझै बढाएको छ. मलाई विश्वास छ, यस मुलुकका न्यायप्रेमी नागरिक र अन्य संवैधानिक निकायहरुले समेत आयुक्तका रूपमा निर्वाचन कानून तथा प्रक्रियामा मेरो पहलमा भएका सुधार र आयोगलाई स्वतन्त्र, स्वायत्त र विश्वकै उत्कृष्टतम बनाउन गरेका मेरा प्रयासहरुको मूल्यांकन अवश्य गर्नेछन् ।

मेरो professional integrity र neutralityका बारे दुष्प्रचार पढ्ने र सुन्ने fellow citizensलाई आश्वस्त गर्न चाहन्छु कि आसन्न दोस्रो चरणको निर्वाचनमा संधै जस्तै आफ्नो कर्तव्यको निर्वाह पूर्ण उत्तरदायित्व, निस्पक्ष्यताका साथ र to the best of my ability गर्नेछु. मेरो इच्छा शक्ति, नैतिक बल र आत्मबल अझै बलियो भएको अवस्था छ ।

निर्वाचन आयोगबाट निर्वाचन प्रक्रियामा यस मुलुक र यसका नागरिकले संधै जस्तो उच्चतम स्तरको fairness, integrity र neutrality (निस्पक्ष्यता) पाउनेछन् र आयोगको यसै गरिमाको लागि म संधै लडी रहनेछु ।

यस्तो छ आयोगले जारी गरेको विज्ञप्तिः
राजनीतिक दलहरुले निर्वाचन आयोगमा पत्र लेखेर गगनको पक्षमा मत माग्नेलाई कार्वाहीको माग राखेलगत्तै आयोगले समेत विज्ञप्ति जारी गरेको थियो । यस्तो छ आयोगले जारी गरेको विज्ञप्तिः