पु.समाचार

बालाजुबाट सत्र किलो सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी वृत्त बालाजुले सत्र किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । वृत्तका प्रमुख विश्वराज खड्काको नेतृत्वमा खटिएको टोलीले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका घर भई हाल बौद्ध बस्ने छुल्टीम तामाङलाई शनिबार साँझ बालाजु चोकबाट पक्राउ गरेको हो ।

वृत्तले आइतबार पत्रकार सम्मेलन गरी बा ७९ प १५३८ मोटरसाइकलको साइलेन्सर पाइपभित्र लुकाएर ल्याएको अवस्थामा ती सुन फेला पारेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रामदत्त जोशीले साइलेन्सर पाइपभित्र चारपाटे आकारको फल्स बटम बनाई त्यसभित्र तीन पोका बनाएर तामाङले सुन लुकाएर ल्याएको जानकारी दिए ।

सुन रसुवाको केरुङ, नुवाकोट, धादिङको गल्छी हुँदै काठमाडौँ भित्रिएको अनुसन्धानबाट खुल्न आएको छ । वृत्तले पक्राउ परेका तामाङबाट एक चिनिया नम्बर र अर्को नेपाली नम्बर रहेको मोबाइलसमेत बरामद गरेको छ ।

बजार मूल्यअनुसार १७ किलो सुनको मूल्य रु आठ करोड आठ लाख ९४ हजार ५०० हुन्छ ।