पु.समाचार

यसरी बल्ल बल्ल जोगिए गोपालमान श्रेष्ठ

स्याङजा । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी वम आक्रमण गरिएको छ। भिरकोट नगरपालिका–८ ढापुक सिमलभञ्ज्याङबाट चुनावी सभाबाट फकिर्दै गर्दा ढापुक फेदीमा श्रेष्ठलाई लक्षित गरी सुतली बम आक्रमण गरिएको हो। क्षेत्र स्याङजा निर्वाचन क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभाका उम्मेदवार हुन्।

सोमबारका नागरिकमा लेखिएको छ, उनले चढेको बा १३ च २०२७ नम्बरको स्कारपियोलाई लक्षित गरी वम आक्रमण भएको थियो। घटनामा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख एसपी प्रदीप श्रेष्ठले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानबाट घटनास्थल वरिपरि गुटखा हाल्ने सानो टिनको टुक्राहरु फेला परेको प्रहरीले जनाएको छ। आक्रमणको जिम्मेवारी कसैले लिएको छैन।

यसैबीच प्रहरीले नेकपा एमालेको चुनावी प्रचार–प्रसारका लागि गएको महेन्द्र जीप र दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

‘तेल हाल्न वालिङ झरेका गाडीलाई वडा प्रहरी कार्यालयले नियन्त्रण लिई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको छ’, नेकपा एमाले जिल्ला कमिटी प्रचार सचिव राजेन्द्र डुम्रेले भने, ‘गोपालमानले निर्वाचन हार्ने निश्चित भएपछि पञ्चायति शैलीमा प्रहरी परिचालन गरी जनतालाई सस्ती दिएको छ।’ गाडीमा रहेका करिब पाँच जना युवाहरुलाई पनि नियन्त्रण लिएर हिरासतमा राखिएको छ।