पु.समाचार

निर्वाचन कार्यतालिका अनुसार आज अन्तिम प्रचार हुँदै

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणमा हुन लागेको निर्वाचनका लागि राजनीतिक दलहरूले सोमबार मात्रै चुनावी प्रचार गर्न पाउनेछन् । सोमबार मध्यरातबाट प्रचार गर्न नपाउने भएका कारण निर्वाचन लडेका प्रमुख दलका शीर्ष नेताहरू आफ्नै क्षेत्रका कार्यक्रममा सहभागी हुँदै छन् ।

कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्षहरू दोस्रो चरणमै उम्मेदवार छन् । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा, एमाले अध्यक्ष केपी ओली झापा ५ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन ३ बाट प्रतिस्पर्धामा छन् । यीमध्ये देउवा र दाहालले चुनाव प्रचारको अन्तिम दिन पनि आफ्नै क्षेत्रमा चुनावी कार्यक्रम बनाएका छन् भने ओली उपत्यकाभित्रका कार्यक्रममा सहभागी हुँदै छन् ।

देउवा सोमबार दिनभर गृहजिल्ला डडेल्धुराको चुनावी कार्यक्रममा सहभागी हुने कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले जानकारी दिए । केही दिन यता सुदुरपश्चिमका चुनावी कार्यक्रममा व्यस्त रहेका देउवाले शनिबार र आइतबार दिनभरि कैलाली(कञ्चनपुरका चुनावी कार्यक्रममा सहभागिता जनाएका थिए । उनले यहीबीच डोटी र अछामका कार्यक्रम पनि भ्याएको खाँणले बताए ।

सोमबारको अन्नपूर्णमा लेखिएको छ, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली भने प्रचारको अन्तिम दिन पनि आफ्नो निर्वाचन क्षेत्रमा हुने छैनन् । उनी उपत्यकाकै चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । ओली सोमबार बिहान काठमाडौं क्षेत्र ३ र दिउँसो भक्तपुर क्षेत्र २ को कार्यक्रममा सहभागी हुने छन् ।

विराटनगर र चितवन ३ अन्तर्गत पर्ने माडीको चुनावी सभामा आइतबार सहभागी भएका ओलीले आफ्नो क्षेत्रको प्रचारका कार्यक्रम सिध्याइसकेका छन् । उनी मंगलबार मात्रै झापा पुग्नेछन् तर सोही दिन उनको काठमाडौं फर्कने कार्यक्रम छ । ओलीले भक्तपुरको बालकोटबाट मतदान गर्ने भएकाले आफ्नो क्षेत्रमा हुने छैनन । उनले आइतबार र सोमबार विभिन्न मिडियालाई पनि समय छुट्याएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल भने चुनाव प्रचारको अन्तिम दिन पनि आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुनेछन् । उनलाई त्यहाँका चुनावी कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामबहादुर थापाले पनि सहयोग गर्नेछन् । थापा पनि तीन दिनयता चितवनमै केन्द्रित छन् । थापा सोमबार चितवन महानगरको वडा नम्वर १६, २६ र २२ का चुनावी कोणसभा, कार्यकर्ता भेटघाटलगायतमा सहभागी हुनेछन् ।

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल पनि आफ्नै निर्वाचन क्षेत्र केन्द्रित हुँदै छन् । नेपालले सोमबार बिहान कागेश्वरी मनोहरा ७ मा घरदैलो कार्यक्रम राखेका छन् भने दिउँसो कोटेश्वरमा चुनावी सभाको कार्यक्रम राखेका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँकै चुनावी कार्यक्रममा हुनेछन् । कांग्रेसले तनहुँको दमौलीमा सोमबार चुनावीसभा आयोजना गरेको छ । कांग्रेस नेता डा। रामशरण महत, नेता बालकृष्ण खाँण भने बुटवल र भैरहवाको चुनावी कार्यक्रममा सहभागी हुने भएका छन् ।