राजनीति

कोईरालाहरुको प्रतिबद्धता पूरा गर्ने ईच्छा भएकोले आफूलाई जिताउन अर्थमन्त्री कार्कीको आग्रह

इटहरी । नेपाली काँग्रेस केन्द्रीय सदस्य एव् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी जिल्लाको पश्चिम दक्षिणमा रहेको महामानव बिपी र जननायक गिरिजाप्रसाद कोइरालाको राजनीतिक कर्मथलोवासीले चाहेको हरेक विकासका पूर्वाधार उपलब्ध गराउने कार्यमा आफू प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।

अर्थमन्त्री कार्कीले विपन्न उराव समुदायका एसएलसी उत्तीर्ण दुई किशोरीलाई आफूले रोजगारीको ग्यारेण्टी लिएको पनि वचन दिए । आजभन्दा ९ वर्षअघि सुनसरीका पश्चिमकुशाहा–४ को पूर्वी तटबन्ध रहेका कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट तटबन्ध भत्काउँदै मानव बस्तीतिर कोशी बग्दा बिल्लिबाठ बनेका हरिपुर र श्रीपुर क्षेत्रका बाढीपीडित समुदायसँगको चुनावी कोणसभा र घरदैलो गर्ने क्रममा अर्थमन्त्री कार्कीले आज सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अर्थमन्त्री कार्कीले कोशी बाढीबाट अर्बौंको नोक्सानी हुने गरी भएको समस्याबाट काँग्रेस परिचित रहेको तथा तत्कालीन अवस्थामा पनि काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले धेरै सहयोग गरेको तथा बाँकी काम अब आफ्नो काँधमा आएकाले त्यसलाई इमान्दारितापूर्वक पूरा गर्ने आज आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रतिबद्धता दोहो¥याए ।

सुनसरी जिल्लाका कृषि क्षेत्रमध्येका तरकारीको उर्वर भूमि रहेको यस क्षेत्रलाई आवश्यक सिँचाइ सुविधा उपलब्ध गराउनका लागि काँग्रेसले सुनसरी खोला सिँचाइको योजना बनाउने र पर्याप्त सिँचाइ उपलब्ध गरी तरकारी किसानका सबै समस्यालाई पाँच वर्षभित्रमा पूर्णरुपले समाधान गरिसक्ने गरी योजना अघि बढाई सकिएको अर्थमन्त्री कार्कीले जानकारी दिए ।

चुनावीसभा र घरदैलो अभियानका क्रममा प्रदेशसभा सदस्यका उम्मेदवार रेवतीरमण दुलाल काँग्रेस क्षेत्रीय सभापति एवम् कोशी गाउँपालिका अध्यक्ष अयुव अन्सारीलगायतका काँग्रेस नेताहरुले मतदातासमक्ष काँग्रेसलाई लोकतन्त्रको स्थायित्व र विकासका लागि मत दिन आग्रह गरेका थिए ।