पु.समाचार

माइनस पाँच डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता

जुम्ला । न कोलियामा बत्ती छ, न त सुताइबसाइँमा न्यानोपन । नवनिर्मित उच्च सरकारी वकिल कार्यालयको सिमेन्टको कोलियामा मतपेटिका कुर्न बसेका दलका कार्यकर्तालाई माइनस पाँच डिग्री सेन्टिग्रेडको चिसो, कालो र लामो रात काट्न निकै सकस भएको छ ।

मंसिर १० गते बेलुकादेखि मतपेटिका कुर्दै आएका लोकतान्त्रिक तथा वाम गठबन्धनका कार्यकर्तालाई सात रात सात महिना जत्तिकै लागेको छ । प्रत्यक्षतर्फको प्रतिनिधि र प्रदेशसभा तथा समानुपातिकतर्फको मतपेटिका आसपासका कोठामा राखी सिल गरिएको ढोका नजिक कुरुवा बसेका उनीहरुले एक सातादेखि मतदाताको मतमा कुठाराघात हुने शंकाले २४सै घण्टा पहरेदारी गर्दै आएको बताएका छन् ।

मतपेटिकाको कुरुवा बसेका लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता तेजेन्द्र हितानले नेपाली काँग्रेसको जित हुनेमा आफू ढुक्क रहेको बताए । “जनता काँग्रेसका पक्षमा रहेको जनाउँदै हितानले वाम गठबन्धनभित्रको किचलो र विवाद आफ्नो जितको प्रमुख आधार हो”– भने । मंसिर १० गतेको चुनावमा वाम गठबन्धनभित्रकै नेताले गरेको क्रियाकलापले हाम्रो जितलाई सुनिश्चित गरेको दाबी गर्दै उनले भने ।

कुरुवामा बसेका वाम गठबन्धनका कार्यकर्ता चक्रबहादुर रावलले ६ नं प्रदेशमै वाम गठबन्धनको अग्रिम जित रहेको बताए । “जुम्ला वाम गठबन्धनको जिल्ला हो, हाम्रो जित सुनिश्चित भइसकेकाले घोषणाको दिन पर्खाईका लागि हामीले आफूलाई जाडो मौसम अनुकूलित बनाएर बसेका छौँ”– उनले भने ।

बजारका चियापसल तथा प्रतीक्षालयमा लोकतान्त्रिक तथा वाम गठबन्धनका कार्यकर्ता भने बिहानै माइनस ५/६ डिग्री सेन्टिग्रेडको तापक्रम क्रुर चिसोमा तातो बहस चलाएर तर्कवितर्क गरिरहेको पाइन्छ । वाम गठबन्धनका अघि निकै कमजोर मानिएको लोकतान्त्रिक गठबन्धनले वाम गठबन्धनभित्र चुलिएको विवाद र अनुमानित अन्तरघातलाई जितको मुख्य कडी बनाएको पाइन्छ ।
वाम गठबन्धनले प्रतिनिधिसभा सदस्य र प्रदेश क्षेत्र नं ९ख० को उम्मेदवारको विजय घोषणा हुन मात्र बाँकी रहेको बताएको छ । ३१ हजार ७१४ मतदाता रहेको क्षेत्र नं ९क० मा २३ हजार ६२९ मत खसेको थियो । त्यसमा झण्डै ६६ प्रतिशत आफ्नो हिस्सामा राखेको वाम गठबन्धनले घातले जितमा कुनै असर नपर्ने जनाएको छ ।

आठ÷आठ घण्टाको फरकमा एक अर्को गठबन्धनका कार्यकर्ताले पालैपालोगरी मतपेटिका कुर्ने काम गरिएको जनाइएको छ । प्रतिस्पर्धी देखिएका दुवै गठबन्धनका उम्मेदवारलाई भने जनताले न्याय गर्ने दिनको पर्खाईले निकै छटपटी बनाएको छ ।