राजनीति

निर्वाचनमा काँग्रेसको स्पष्ट बहुमत आउँछ : संयोजक खाँण

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टीको स्पष्ट बहुमत आउने बताएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा लोकतन्त्रलाई सुदृढ बनाई मुलुकमा आर्थिक विकास गर्नका लागि जनताले काँग्रेसलाई बहुमत दिलाउने बताएको हो ।

सम्मेलनमा समितिका संयोजक बालकृष्ण खाँणले पार्टी एकढिक्का भएको, लोकतन्त्रप्रति मतदाताको ध्यानाकर्षण भएको र वाम गठबन्धनप्रति जनतामा निराशा छाएकाले काँग्रेसको स्पष्ट बहुमत आउने बताएका हुन् । “दोस्रो चरणमा हुन लागेको १२८ प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेस ७० स्थानमा अगाडि छ”– उनले भने ।

उनले शान्ति, स्थिरता र लोकतान्त्रिक शासन व्यवस्था काँग्रेसको प्रमुख लक्ष्य भएकाले यसलाई बलियो बनाउनका लागि पनि जनताले काँग्रेसलाई विश्वास गर्ने बताए ।

संविधानमा भएका मूलभूत कुरालाई उल्टाउने तथा एकदलीय शासन व्यवस्था लागू गर्ने मनसायका साथ वाम गठबन्धन भएको भन्दै संयोजक खाँणले बहुदलीय व्यवस्थाको रक्षा र राष्ट्रियताको संरक्षणका लागि लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको बताए ।

संयोजक खाँणले २१ गते निर्वाचन हुन लागेका सबै जिल्लाका सबै मतदानस्थलमा पार्टीले स्वयंसेवक खटाइसकेको जानकारी दिनुहुँदै निर्वाचनमा खटिएका प्रतिनिधि, स्वयंसेवक, कर्मचारीको सुरक्षाका लागि सरकारसँग माग गरे ।

उनले काँग्रेसको सरकारका पालामा मुलुकले पूर्वाधार विकासमा ठूलो फड्को मारेको भन्दै संविधान कार्यान्वयन र आर्थिक विकास काँग्रेसबाट सम्भव भएको स्पष्ट पारे ।