राजनीति

धनुषाको निर्वाचन क्षेत्र नं १ र २ मा त्रिकोणात्मक प्रतिस्पर्धा

अजयकुमार साह
महेन्दनगर, धनुषा । धनुषाको निर्वाचन क्षेत्र नं १ र २ मा काँग्रेस, वाम गठबन्धन र मधेशी गठबन्धनबीच त्रिकोणात्मक प्रतिष्पर्धा हुने भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि धनुषा निर्वाचन क्षेत्र नं १ बाट वाम गठबन्धनबाट माओवादी नेता मातृकाप्रसाद यादव प्रत्यक्ष चुनावी मैदानमा पहिलो पटक उत्रेका छन् ।

त्यस्तै नेपाली काँग्रेसका तर्फबाट सोही क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आनन्द ढुंगानाले उम्मेदवारी दिएका छन् भने फोरम राजपा गठबन्धनबाट फोरमका दीपक कार्कीले उम्मेदवारी दिएका छन् । कार्की हालै मात्रै काँग्रेस परित्याग गरी फोरम प्रवेश गरेका हुन् ।

प्रदेशसभा सदस्यका लागि धनुषा १ को (क) बाट वाम गठबन्धनका तर्फबाट एमालेका किशोरी साह, १ (ख) बाट वाम गठबन्धनबाट माओवादीका रामचन्द्र मण्डल चुनाबी मैदानमा हुनुहुन्छ भने नेपाली काँग्रेसबाट १ (क) मा प्रेमकिशोर साह र (ख) मा रामउदय यादव प्रतिस्पर्धा गर्दै छन् । त्यस्तै फोरम राजपा गठबन्धनबाट १ (क) मा फोरमका श्यामनारायण यादव तथा १ (ख) मा राजपाका सञ्जय सिंहले उम्मेदवारी दिएका छन्।

एउटा क्रान्तिकारी र भ्रष्टाचार विरोधी नेताका रुपमा छवि बनाउन यादव सफल भए पनि उनलाई चुनाव जित्न भने त्यति सहज छैन । उनको प्रतिस्पर्धा धनुषामा पञ्चायतकालमा शेरेधनुषाको उपाधि पाएका हेमबहादुर मल्ललाई लगातार तीन पटक हराउन सफल नेपाली काँग्रेसका नेता आनन्दप्रसाद ढुंगानासँग छ ।

पहिलो संविधानसभाको चुनावमा माओवादीबाट समानुपातिक सभासद् बनेका यादव माओवादी अध्यक्ष दाहालसँग असन्तुष्टि बढेपछि आफ्नो कार्यकाल पूरा गर्नु अघि नै सभासद्बाट राजीनामा दिएका थिए।

धनुषा–१ मा गणेशमान चारनाथ, धनुषाधाम, मिथिला, क्षिरेश्वरनाथ, मिथिला विहारी, सबैला र हंशपुर नगरपालिका गरी सातवटा स्थानीय तह छन् । स्थानीय तहको निर्वाचनमा गणेशमान चारनाथ नगरपालिका र सवैला नगरपालिकामा माओवादी केन्द्रले उपप्रमुख सहित केही वडाअध्यक्षमा जितेको थियो भने बाँकीमा काँग्रेस र मधेशवादी दलले जितेका थिए । यहाँ स्थानीय तहमा काँग्रेसले बढी सिट जितेका छ ।

पञ्चायती व्यवस्थाविरुद्ध आफ्नै गाउँ सबैलामा काँग्रेस कार्यकर्ताको प्रभावमा परेर मातृका राजनीतिमा आएका थिए । विसं २०३३ बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर ‘मेरो घाँटी र राजाको घाँटी एउटै हो’ भनेर नेपाल आएपछि मात्रिका काँग्रेसबाट नै अलग भएका थिए ।

यादव अब संविधान संशोधन गराउन र मधेशको विकासका लागि प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिएकाले जनताले आफूलाई जिताउने विश्वास व्यक्त गर्छन् ।

आफूले चुनाव जिते रोजगारीको सिर्जना गर्ने, बन्द रहेको जनकपुर चुरोट कारखाना पुनःसञ्चालनमा ल्याउने, किसानको समस्या समाधान गर्ने, शिक्षा स्वास्थ्यलगायत क्षेत्रमा काम गर्नुका साथै भ्रष्टाचार अन्त्य गर्न लागिपर्ने यादव बताउछन् ।

अर्का प्रतिस्पर्धी ढुंगानाले मधेश र मधेशीको माग नेपाली काँग्रेसले मात्र पूरा गर्न सक्ने भएकाले नेपाली काँग्रेसमा मतदान गर्न सबैलाई आग्रह गर्दै आएका छन् । नेता ढुंगाना राष्ट्रिय पार्टी बन्न तीन प्रतिशत मतका लागि संघर्ष गरिरहेको कुनै क्षेत्रीय पार्टीले मधेशको राजनीतिक, आर्थिक र विकास–निर्माणको माग पूरा गर्न नसक्ने भएकाले यस क्षेत्रका मतदाताले आफूलाई नै जिताउने विश्वास व्यक्त गर्छन् । काँग्रेस पहिलेदेखि नै बलियो भएकाले कुनै वाम गठबन्धनले आफूलाई हराउन नसक्नेमा विश्वस्त रहेका उनी भन्छन् नेपाली काँग्रेसकै नेतृत्वमा नयाँ संविधान बनेकाले नेपाली काँग्रेसले बहुमत ल्याए मात्र मधेशको माग संविधान संशोधनमार्फत सम्बोधन हुनेमा जोड दिन्छन् ।

यता मधेशी गठबन्धनको उम्मेदवार दीपक कार्की पनि पुराना अनुहारभन्दा जनताले नयाँ अनुहारका नेता खोजेकाले आफू जित्नेमा ढुक्क छन् । मधेश र मधेशीको अधिकारका लागि मधेशवादी दलभन्दा अरुले बुझ्न नसक्ने भएकाले जनताले आफूलाई मतदान गरी जिताउनेमा नेता कार्की विश्वास व्यक्त गर्नुहुन्छ । उनी हालै काँग्रेस परित्याग गरी फोरममा प्रवेश ग्ेका हुन्।

त्यसैगरी धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा पनि त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काँग्रेस, वाम गठबन्धन र मधेशवादी गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरमबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

नेपाली काँग्रेसबाट रामकृष्ण यादव, वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता रामचन्द्र झा र संघीय समाजवादी फोरमबाट उमाशंकर अरगडियाबीच कडा प्रतिस्पर्धा हुने स्थिति छ ।

काँग्रेस नेता रामकृष्ण यादव धनुषा निर्वाचन क्षेत्र नं २ बाट दुई पटक लगातार निर्वाचित भइसकेका छन् । पहिलो पटक सभासद् बनेपछि लेखा समितिको संयोजक समेत भएका यादव अहिले कृषिमन्त्रीसमेत छन् । सोही क्षेत्रबाट आफ्नो भविष्य खोजी रहेका माओवादी नेता रामचन्द्र झा पनि दुई पटक सांसद बनिसकेका छन्।

पहिलो संविधानसभाको चुनावमा एमालेबाट जितेका झा दोस्रो संविधानसभाको चुनावभन्दा केही महिनाअघि मात्रै माओवादीमा प्रवेश गरेर दोस्रो संविधानसभाको चुनावमा पराजित भए । झा प्रचण्ड नेतृत्वको सरकारमा स्थानीय विकासमन्त्रीसमेत भइसकेका थिए । यादव र झाबीच सो क्षेत्रमा कडा प्रतिस्पर्धा देखिएको छ ।