राजनीति

यसरी संकटमा पर्दैछ नेपालमा कम्युनिष्ट आन्दोलन, ओली, सिंह र वैद्यले दिए संकेत !

काठमाण्डौ । मुलुकमा चुनावी सरगर्मी बढिरहेका बेला अहिले एउटा बहसले निकै चर्चा पाइरहेको छ । केही महिनाअघि एमाले र माओवादी केन्द्रले पार्टी एकतासम्मकै परिकल्पना गरेर चुनावी तालमेलको घोषणा गरे । ती पार्टीका सबै कार्यकर्ताहरु यो प्रस्तावले निकै मख्ख परे । अब मुलुकमा कम्युनिष्टहरु एक हुने भए र आफ्नै हालीमुहाली हुने भयो भन्ने परिकल्पनामा अहिले पनि धेरै नेता कार्यकर्ताहरु डुबिरहेका छन् ।

एमाले र माओवादी फरक–फरक पृष्ठभूमिबाट आएका पार्टी भएपनि धेरैलाई यी दुई पार्टी मिल्दा कम्युनिष्ट अधिनायकवादसम्म आउन सक्ने शंका लागिरहेको छ । तर यी सबै शंका र बहसलाई निस्तेज पार्दै एमाले अध्यक्ष केपी ओलीले एमाले र माओवादी दुवै कम्युनिष्ट नभएको खुलासा गरेका छन् ।

केही दिनअघि नेपालका चर्चित पत्रकार विजयकुमार पाण्डेलाई आफ्नै निवासमा बोलाएर ओलीले दुबै पार्टी अब कम्युनिष्ट धारमा नरहेको घोषणा गरेका हुन् । अध्यक्ष ओलीले यो कुराको खुलासा गरेलगत्तै यसबेला नेपाली राजनीतिक रंगमञ्च तातेको छ ।

एमाले र माओवादीका एकथरी कार्यकर्ताहरुले ओलीको यो बोलीलाई एउटै कम्युनिष्ट पार्टी बनाउने सपनामा तुषारापात लाग्ने संकेतका रुपमा लिइरहेका छन् भने केहीले एमाले पहिले देखिनै कम्युनिष्ट नरहेको र अहिले ओलीले दिएको मन्तव्यलाई स्वभाविक भएको बताइरहेका छन् ।

ओलीले दिएको प्रतिक्रियाबाट के अब नेपालमा कम्युनिष्टहरको अस्तित्व समाप्त हुँदै गएको हो त ? भन्ने प्रश्न समेत उब्जिएको छ । केही वर्षअघि एमाले केन्द्रीय कार्यालयमा राखिएको विश्व कम्युनिष्ट आन्दोलनका नेताहरुका तस्वीर हटाउने निर्णयले एमालेको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै आलोचना भएको थियो ।

त्यसबेला एउटा कार्यक्रमको सिलसिलामा अमेरिकी राजदूत एमाले केन्द्रीय कार्यालय बल्खु जाँदै गर्दा सो पार्टीले विश्व कम्युनिष्ट आन्दोलनका नेताहरु कार्ल माक्र्स, लेनिन,स्टालिन लगायतका तस्वीरहरु हटाएको थियो । त्यसपछि अहिले फेरि एकपटक अध्यक्ष ओलीले दिएको मन्तव्य एमालेका लागि सैद्धान्तिक रुपमा निकै महत्व र आलोचनाका बाहिर आएको छ । अन्नपूर्ण पोष्टका सम्पादक समेत रहेका विजयकुमार पाण्डेसँगको अन्तरवार्ताका क्रममा ओलीले भनेका छन्, साम्यवाद हाम्रो सरदर भाषामा राम राज्य हो । कल्पवृक्ष जस्तो ।

उनले आफुहरु कम्युनिष्टहरु नरहेको दाबी समेत गरे । उनले आफ्नो पार्टी र माओवादीभित्र कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने मानिसको समेत खडेरी पर्दै गएको बताउँदै भनेका छन्, अरूको त कुरै छोडौं, मेरो आफ्नै पार्टीका कतिपय मान्छे पनि त्यो दूर उद्देश्य प्राप्तिका लागि कति इमानदार र योग्य छन्, म भन्न सक्दिनँ।”

उनले माओवादी आन्दोलनलाई समेत सैद्धान्तिक भूल भएको संज्ञा दिएका छन् उनले भनेका छन्, “माओवादीहरूको सशस्त्र संघर्ष एउटा सैद्धान्तिक भूल थियो। राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको त्रुटिपूर्ण विश्लेषणमा आधारित थियो । हामीले भुल्नु हुँदैन, त्यसबेला शान्तिपूर्ण संघर्षका बाटाहरू खुलै थिए। संवैधानिक बाटो खुला थियो ।

राजतन्त्र संवैधानिक भइसकेको थियो। गणतन्त्रवादी धारका मानिसहरू, थोरै संख्यामा भए पनि संसदमा पुगेर त्यसका लागि आवाज उठाइसकेको अवस्था थियो । माओवादी जनयुद्धभन्दा अगाडि निर्वाचनकै माध्यमबाट एमालेले सरकारको नेतृत्व गरिसकेको अवस्था थियो।” ओलीले दिएको यो अभिव्यक्तिले पनि नेपालमा कम्युनिष्टहरु सकिदै गएको प्रमाण देखिन थालेको एकथरी विश्लेषकहरु भनाई छ ।

यसरी थाक्दैछन् बुढा कम्युनिष्ट नेताहरु 

नेपाली कम्युनिष्ट आन्दोलनमा सबैभन्दा चर्चित नाम हो मोहनविक्रम सिंह । कुनैबेला कम्युनिष्ट आन्दोलनका सबैभन्दा चर्चित हस्तीका रुपमा रहेका उनी यसबेला संसदीय अभ्यासको रुपमा रहेको चुनावमा भोट माग्दै हिडिरहेका छन् ।

सिंहकी श्रीमती दुर्गा यसबेला चुनावी उम्मेद्वार रहेकी छन् । कुनै बेला संसदीय चुनावलाई पटक्कै विश्वास नगर्ने सिंह यसबेला मत माग्दै हिड्नुलाई आत्मसमर्पणको बाटोमा हिडेको एकथरी कम्युनिष्ट कार्यकर्ताले टिप्पणी गरिरहेका छन् । कुनैबेला पुष्पकमल दाहालका समेत गुरुका रुपमा रहेका सिंह यसरी चुनावी अभियानमा हिड्नुलाई उनी निकट कार्यकर्ताहरुले कम्युनिष्ट आन्दोलनबाट हार बेहोरेको अर्थका रुपमा लिइरहेका छन् ।

त्यस्तै, अर्का चर्चित कम्युनिष्ट नेता मोहन वैद्य किरण पनि अहिले चुनावलाई उपयोग गर्ने नाममा मत माग्ने काममा व्यस्त देखिन्छन् । तत्कालीन माओवादी आन्दोलनमा कडा धारको नेतृत्व गर्ने नेता वैद्य अहिले चुनावमा होमिनु पनि कम्युनिष्ट आन्दोलनबाट थोकेको रुपमा हेरिन थालिएको छ ।

कुनैबेला लेनिन र माओको उपमा पाएका मोहनविक्रम सिंह र मोहन वैद्य अहिले चुनावमा भोट माग्दै हिड्नु र एमाले अध्यक्ष ओलीले आफुहरु कम्युनिष्ट नभएको घोषणा गर्नुले नेपालमा कम्युनिष्ट आन्दोलन, सिद्धान्त र त्यो धारको भविष्य सकिदै गएको एकथरी विश्लेषकहरुको दाबी रहेको छ ।

उता,पुष्पकमल दाहालले नेतृत्व गरेको माओवादी केन्द्रलाई समेत उक्त धारबाट विसर्जनवादतर्फ उन्मुख भएको भन्दै कडा आरोप लागिरहेको छ । जसले नेपालमा कम्युनिष्टहरुको सपना सिसाको महलझै गल्र्यामगुर्लुम ढल्ने निश्चित जस्तै देखिएको छ ।