कृषि

पाल्पा जिल्लामा धान उत्पादनमा वृद्धि

पाल्पा । जिल्लामा धान उत्पादनमा वृद्धि भएको छ । उन्नत जातको धान खेतीप्रति आकर्षित हुनु, समयमै खेती हुनु, मलखादको पर्याप्त सुविधा हुनु, रोग नलाग्दा धान उत्पादनमा वृद्धि भएको हो ।

गत वर्षभन्दा यस वर्ष दुई हजार मेट्रिक टन बढी धान उत्पादन भएको छ । गत वर्ष जिल्लामा ३३ हजार ८९६ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ३५ हजार ८८ मेट्रिक टन धान उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले जानकारी दिए ।

हरेक वर्ष जिल्ला कृषि विकास कार्यालयले उन्नत जातको धानको बीउ वितरण गर्दै आएको छ । पछिल्लो समयमा पाल्पाका विभिन्न खेतीयोग्य भू–भागमा स्थानीय जातको धानभन्दा उन्नत र हाइब्रिड जातको धान लगाउने क्रम बढेको छ ।

माडी, रामपुर, अर्गली, हुँगी, कचल, झडेवा, सत्यवती, गल्धा, पूर्वखोला, रिङ्नेरहजस्ता क्षेत्रमा धानबालीको खेती गरिँदै आएको छ ।