अन्तर्राष्ट्रिय

परमाणू हमलाबाट यसरी जोगिदैछ अब अमेरिका, सम्पन्न गर्यो एउटा महत्वपूर्ण परीक्षण

एजेन्सी ।  संयुक्त राज्य अमेरिकाको हवाई राज्यले शीतयुद्धपछि पहिलो पटक परमाणु हमलाको चेतावनी दिने साइरन परीक्षण गरेको छ। उत्तर कोरियाबाट बढ्दो क्षेप्यास्त्र तथा पारमाणविक कार्यक्रमसम्बन्धी खतराका माझ फेरि प्रत्येक महिना गरिने त्यस्तो परीक्षणको थालनी गरिएको हो।

प्योङयाङले श्रृंखलाबद्ध रुपमा बलिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको छ र सेप्टेम्बर महिनामा उसले छैटौँ पारमाणविक परीक्षण गरेको थियो। प्रशान्त महासागरमा पर्ने हवाईमा सुनामीसहितका प्राकृतिक विपद्को चेतावनी दिने साइरनहरुको मासिक परीक्षण पहिल्यैदेखि गरिँदै आएको छ।

परमाणु हमलाको चेतावनी दिने साइरनले फरक किसिमको आवाज निकाल्छ जुन त्यहाँका बासिन्दा र पर्यटकलाई घरभित्र रहन तथा थप निर्देशनको प्रतीक्षा गर्न लगाउने चेतावनी हो।पछिल्लो पटक सन् १९८० को दशकमा शीतयुद्धको अन्तिम वर्षमा हवाईमा परमाणु हमलाको चेतावनी दिने साइरनको परीक्षण गरिएको थियो।

तर त्यस्तो साइरनको आवाज शुक्रवार सुनियो र अब हरेक महिनाको काम जाने पहिलो दिन बज्ने छ। हवाईको आपत्‍कालीन व्यवस्थापन निकायका प्रमुखले नागरिकहरुले फरक आवाजको अर्थ बुझ्न ‘निकै महत्त्वपूर्ण’ रहेको बताएको होनोलुलु स्टार-एड्भरटाइजर पत्रिकाले लेखेको छ।

उत्तर कोरियाबाट प्रहार गरिने एउटा क्षेप्यास्त्रले २० मिनेटभित्र हवाई मार हान्न सक्ने उक्त पत्रिकाले उल्लेख गरेको छ। हवाईमा एसिया प्रशान्त क्षेत्रका लागि अमेरिकी सेनाका मुख्यालयहरु छन्।

अमेरिकाले हालै एउटा नयाँ अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो जुन क्षेप्यास्त्रले अमेरिकी मूलभूभागको जुनसुकै स्थानमा मार हान्न सक्ने उसले दाबी गरेको थियो।

विज्ञहरु भन्छन्, ह्वासङ-१५ ले युद्धशीर्ष ओसारपसार गर्न सक्छ। यद्यपि क्षेप्यास्त्रलाई उपयुक्त हुने साना अस्त्र बनाउन प्योङयाङ सक्षम भए वा नभएको स्पष्ट हुन सकेको छैन।