पु.समाचार

स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न निर्देशन

चितवन । निर्वाचन आयोगका आयुक्त इला शर्मा र सुधिर शाहले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

आयुक्तद्वय र निर्वाचन परिचालनमा जिल्लामा खटिएका मुख्य निर्वाचन अधिकृत, अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखबीच शनिबार यहाँ भएको बैठकमा उहाँहरुले यस्तो निर्देशन दिएका हुन् ।

बैठकमा सहभागी प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार उनीहरुले जिल्लामा निर्वाचनको तयारीको अवस्था र सुरक्षाका बारेमा जानकारी लिएका थियो । उहाँहरुले शान्तिपूर्ण ढंगबाट पर्वका रुपमा निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको पनि भट्टले बताए । उनीहरु निर्वाचनमा खटिने कर्मचारी र सुरक्षा निकायको मनोबल बढाउन र स्थिति बुझ्न आएको प्रजिअ भट्टले बताए ।

बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै आयुक्त शर्माले मंसिर २१ गते हुने निर्वाचनका लागि जिल्लामा शान्ति सुरक्षाको व्यवस्था राम्रो पाएको बताए ।

निर्वाचन आयुक्त शाहले मंसिर १० गतेको निर्वाचनमा जस्तै २१ गतेको निर्वाचनमा पनि मतदाताहरु ढुक्क भएर मतदान गर्न पाउने र संविधान नचाहनेले छिटफुट घटना गराए पनि शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गर्न सुरक्षा व्यवस्था अझ मजबुत पारिने उनले बताए ।