राजनीति

घर बमको निशानामा परे पनि प्रदिप पौडेलले सुरु गरे अभियान !

तनहुँ । नेपाली कांग्रेसका युवा नेता एवम् तनहुँ क्षेत्र नम्बर २ (क) का उम्मेद्वार प्रदिप पौडेलको घरमा बम विष्फोट भएको छ । तनहुँको गणपतेस्थित पौडेलको घरमा शनिबार बिहान करिब पौने पाँच बजे बम विष्फोट भएको हो ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पौडेल निर्वाचन अभियानमा व्यस्त रहेकै बेला बम विष्फोट भएको छ । एकाबिहानै भएको विष्फोटमा कुनै मानवीय क्षति भने भएको छैन । बम आँगनमा विष्फोट भएको थियो । विष्फोटका कारण घरमा भने सामान्य क्षति भएको बताइएको छ ।

बम कसले विष्फोट गरायो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । शुक्रबार प्रधानमन्त्री निवास बुढानिलकण्ठमा पनि बम विष्फोट भएको थियो ।

दोश्रो चरणको चुनावको मिति नजिकिदै जाँदा बम विष्फोटका घटनाहरु बढिरहेका छन् । बम विष्फोट गराउने समूहको भने अहिलेसम्म पहिचान हुन सकेको छैन ।

नेता पौडेल चुनावी अभियानमा व्यस्त
शनिबार एकाबिहानै आफ्नो घरको आँगनमा बम विष्फोट भएपनि त्यसको बेवास्ता गर्दै कांग्रेस युवा नेता पौडेल चुनावी अभियानमा लागिरहेका छन् ।

अहिले उनले घरदैलो भेटघाट कार्यक्रम सुरु गरिसकेका छन् । बम विष्फोटबाट विचलित नभई अघि बढ्न कार्यकर्ताहरुले समेत उनलाई आश्वासन दिइरहेका छन् ।