पु.समाचार

प्रधानमन्त्री देउवाको निवासमा बम विष्फोट

काठमाडौं । बम राखिएको हल्ला र विस्फोटका घटनाले शुक्रबार दिनभरजसो राजधानीमा पनि त्रास बढ्यो । बिहानै त्रिचन्द्र कलेजअघि ‘बम’ भेटियो भने राति प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासको कम्पाउन्डको दक्षिण भागमा प्रेसरकुकर बम पड्कियो ।

यसबीचमा दिनभरजसो ठाउँठाउँमा बम भेटिएको हल्ला चले पनि कुपन्डोल र प्रधानमन्त्री निवासमा मात्रै विस्फोट भएको प्रहरीले पुष्टि गरेको छ ।

कुपन्डोल क्षेत्रमा साँझ भएको विस्फोटको आवाज निकै परसम्म सुनिएको थियो । विस्फोट लगत्तै पुल्चोक प्रभागका प्रहरी परिचालित भएका थिए । तर बुद्धनगर र कुपन्डोल जोड्ने पुल आसपासमा विस्फोट भएको सुनिए पनि के विस्फोट भएको थियो भनेर प्रहरीले पत्ता लगाउन सकेन ।

विस्फोटले मानवीय र भौतिक क्षति नभएको प्रहरी निरीक्षक गोविन्द पन्थीले बताए । बूढानीलकण्ठस्थित प्रधानमन्त्री निवासको कम्पाउन्ड बाहिर राति आठ बजेतिर प्रेसरकुकर बम विस्फोट भएको थियो । विस्फोटबाट ठूलो भौतिक र मानवीय क्षति नभए पनि उक्त क्षेत्रमा राति अबेरसम्म सन्त्रास फैलिएको थियो ।