पु.समाचार

पहिलोपटक सगरमाथाको उचाई मापन गरिदै

काठमाण्डौ । नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाइ मापन सुरु गरेको छ । १० जना अन्तर्राष्ट्रिय विज्ञको समेत सहयोग लिइएको सगरमाथा उचाइ मापनमा आधुनिक प्रविधि प्रयोग गरिने नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले जानकारी दिएका छन् ।

भट्टका अनुसार मापनलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न विदेशी विज्ञको सहयोग लिइएको हो । विभागले उचाइ मापनलाई प्रभावकारी बनाउन मंसिर २५ र २६ गते अन्तर्राष्ट्रिय कार्यशाला आयोजना गरेको छ । कार्यशालामा अमेरिका, चीन, भारत, जापानलगायत विभिन्न मुलुकका विज्ञ, प्रतिनिधि सहभागी हुनेछन् ।

सगरमाथाको उचाइ मापनमा नेपालले अपनाएको विधि विज्ञहरूमा प्रस्ताव गरी थप सुझाव लिएर काम अघि बढाइनेछ । नेपाल सरकारले पहिलो पटक गरेको सगरमाथाको उचाइ मापनमा विवाद नआओस् र सर्वस्वीकार्य होस् भनेर विश्वकै दक्ष विज्ञहरूलाई सहभागी गराइएको विभागको भनाइ छ ।

शनिबारको अन्नपूर्णमा लेखिएको छ, विभागले उचाइ मापनका लागि १२ वटा स्थलगत बिन्दुलाई आधार लिनेछ । जसमध्ये ४ वटा बिन्दुमा पुगेर काम सम्पन्न गर्नेछ । तयारी पूरा भएपछि स्थलगत काम सुरु गर्न हिमपातले समस्या बनाएकाले केही महिना ढिलाइ हुने विभागको भनाइ छ ।

नेपालमा नापी विभागसँग ६० वर्षको अनुभव भएकाले नयाँ प्रविधिका विषयमा समेत दक्ष भइसकेकाले उचाइ मापन चार वर्षभित्र पूरा गर्ने जनाएको छ ।