पु.समाचार

प्रधानमन्त्री देउवा र ओली एकअर्काविरुद्ध कडा आक्रोस पोख्दै

काठमाण्डौ । चुनावी प्रचारक्रममा कांग्रेस र वाम गठबन्धनका नेता एक-अर्काविरुद्ध खनिन थालेका छन्। जिल्ला दौडाहामा रहेका शीर्ष नेता नै ‘अशिष्ट शैली’ मा गालीगलौजमा उत्रिन थालेका हुन्। एकले-अर्कोलाई लोकतन्त्र मास्ने खेलमा लागेको, पश्चगमन ब्यूँताउन लागेको, सम्मान गर्न नजानेको जस्ता आरोपसहित नेता चुनावी अभियानमा होमिएका छन्।

एमाले-माओवादीले पार्टी एकताको सैद्धान्तिक सहमति गरी चुनावी तालमेल गरेसँगै दुई धु्रवीय राजनीतिमा विभाजित वामपन्थी र लोकतान्त्रिक शक्तिबीच आरोप-प्रत्यारोप हुन थालेको हो। चुनावको मुखमा मतदातालाई प्रभावमा पार्न दलहरू हदैसम्मका आरोप-प्रत्यारोपमा उत्रिएको बुझाइ मनोविश्लेषकको छ।

प्रधानमन्त्रीको बोली

– कम्युनिस्टले जिते विदेशी लगानी भित्रिँदैन। विदेशीले कांग्रेसलाई मात्र पत्याउँछन्। अधिनायकवाद रोज्ने कि लोकतन्त्र रोज्ने निर्णय गर्ने बेला आएको छ। (पोखरा-स्याङ्जा)

– वाम गठबन्धनका कारण लोकतन्त्र खतरामा परेको छ। कम्युनिस्टहरू अहिलेको संविधान च्यातेर तानाशाही, राष्ट्रपतीय संविधान बनाउन खोज्दै छन्। हामीले अधिकार माग्न पनि पाउँदैनौं। (दाङ, मलंगवा)

– कम्युनिस्ट शासन आए मुलुकबाट समावेशिता औपचारिक रूपमै अन्त्य भएर जान्छ। जनताका सबै अधिकार खोसिन्छन्। (झापा)

– वामपन्थी हत्या-हिंसा मच्चाउने शक्ति हुन्। उनीहरूसँग देशको विकास गर्ने होइन, बिगार्ने र भत्काउने कामको मात्र अनुभव छ। (तेह्रथुम)

ओलीको बोली:

– वामपन्थीको सरकार बनेपछि लोकतन्त्र जोगिन्छ, कांग्रेसी शासन मासिन्छ। कांग्रेसले लोकतन्त्र भनेको आफूले जित्नुलाई मात्र बुझेको छ। अरूले जित्यो भने उसले अधिनायकवाद देख्छ। (झापा, चन्द्रगढी)

– १९९७ सालमा राणाविरुद्ध लडेका गणेशमान सिंहले आँसु खसाल्दै पार्टी छाड्नुपर्‍यो। कांग्रेसको अहिले कन्तविजोग छ। इमानसँग जम्काभेटसमेत नभएको नेतृत्व अहिले कांग्रेसमा छ। (काठमाडौं, बानेश्वर)

– म भर्खर डडेलधुराको विकास हेरेर फर्किएँ, उहिल्यै बनाएको एउटा खण्डहर सडकबाहेक केही छैन। अनि झापामा आएर विकास भएन भन्ने ? (झापा)

– कांग्रेस पहिला कम्युनिस्ट आए भने बूढाबूढीलाई मार्छन्, खानसमेत दिँदैनन् भनेर भ्रमको खेती गर्थ्यो। अहिले पनि अधिनायकवाद आउँछ, रुन पनि पाइँदैन भनेर हिँड्दै छ। ठीकै हो, कांग्रेसको जस्तो रुने होइन, हामी जनतालाई हाँस्ने दिन ल्याउन सरकार बनाउँदै छौं।