पु.समाचार

केपी ओली यसकारण लागेका रहेछन् राजनीतिमा, यसरी स्मरण गरे बाल्यकालको जीवन

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अन्तर्वार्ता शुक्रबारको अन्नपूर्ण पोस्टमा छापिएको छ । विजय कुमारले ओलीसँग अन्तर्वार्ता लिएका हुन् । अन्तवार्ताको केही अंश यस्तो छ ।

तपाईंको जीवनका केही निर्णायक घुम्तीहरूबारे स्मरण गर्न सक्नु हुन्छ ?
‘जरुर। म आठ वर्षको थिएँ। गाउँमा पण्डित बाजे पुराण भन्दै थिए, ‘फलाना राजाले बर्खायामभरि पर्ने पानीका थोपाभन्दा धेरै गाईहरू दान गरे रे। पण्डितजीका कुरा मैले पचाउन सकिनँ । म आफैं गोठालो जाने मान्छे। त्यसैले सोधें, ‘त्यतिका धेरै गाई राख्ने, बाँध्ने ठाउँ कसरी सम्भव छ रु तपाईंका कुरा पत्याउन सक्दिनँ म। पण्डितजी आगो भए ।

तथानाम गाली गरे मलाई। त्यस दिनदेखि मैले शास्त्रमा लेखिएको छ भन्दैमा कुनै पनि कुरालाई जस्ताको त्यस्तै पत्याउन छोडिदिएँ, चाहे त्यो जुनसुकै धार्मिक शास्त्र होस् वा राजनीतिक शास्त्र। मलाई लाग्छ कुनै पनि खाले शास्त्र र पुराणलाई, समय कालको पृष्ठभूमिमा राखेर मात्र बुझिनुपर्छ।

अर्को निर्णायक घुम्ती ?
‘म तेह्र वर्षको हुँदो हुँ। गाउँका ठालुले पञ्चायतमा एक गरिबका विपक्षमा अन्यायपूर्ण फैसला गरे । मैले विरोध गरें । उनले मलाई नराम्ररी हप्काए । बंगारा फुस्काउने धम्की दिए। मैले सहन सकिनँ । तिनको कठालो समातें ।

तिनी त्यहाँबाट गए। धेरैले मलाई सम्झाए, ठूला मान्छेलाई त्यसो गर्नु हुन्न भनेर । तर त्यो दिनदेखि मेरा निम्ति ठूला मान्छे शब्दको परिभाषा फेरियो । मान्छे ठूलो जन्म र जातले होइन कर्मले हुन्छ भन्ने विश्वास पलायो । त्यसै उद्देश्यका निम्ति काम गर्नुपर्छ भन्ने विचारको बिउ रोपियो मनमा। केही समयपछि म राजनीतिमा लागें।