राजनीति

धनुषाको राजनीति–जेलबाटै बन्दीको अन्तरवार्ता प्रसारण भएपछि….

काठमाण्डौ । जेलमा रहेका अभियुक्तको अन्तर्वार्ता रेडियोमा प्रसारण हुने सूचनाले मंगलबार बिहानैदेखि सहरमा तरंग आएको थियो। अन्तर्वार्ताकार पत्रकार अजय अनुरागीले बिहानै फेसबुक स्टाटसमार्फत साँझ ७ बजे अन्तर्वार्ता प्रसारण हुने जानकारी दिएलगत्तै उनको मोबाइलमा एकपछि अर्को कल आउन थाल्यो।

उनलाई फोन गर्ने राजपा समर्थक कोही प्रसारण नगरिदिन अनुरोध गरिरहेका थिए त कोही जेलमा रहेका बन्दीको अन्तर्वार्ता लिन र प्रसारण गर्न नपाइने दाबी गरिरहेका थिए। अनुरागीचाहिँ जेलरलाई निवेदन दिएर बन्दीसँग अन्तर्वार्ता लिएको र कैदी, बन्दी प्रेसमार्फत आफ्नो कुरा सार्वजनिक गर्न स्वतन्त्र रहेको जिकिर गरिरहेका थिए।

बन्दीको समर्थन पाएको कांग्रेस पनि ढुक्क थिएन। बन्दीले बोलेका कुराले नकारात्मक प्रभाव पार्ने त हैन भनेर संशकित कांग्रेस समर्थक उनले के के बोले भन्ने कुरा अन्तर्वार्ताअघि नै जान्न चाहन्थ्यो। काठमाडौंमै रहेका उम्मेदवार विमलेन्द्र निधिले पनि केही पत्रकारलाई फोन गरी अन्तर्वार्तामा के के भनेका छन्, भनेर बुझ्न खोजेका थिए।

अन्तर्वार्ता प्रसारण हुने कुराले मात्र यस क्षेत्रको चुनावी माहोलमा तरंग ल्याउन सक्ने बन्दी सञ्जय साह हुन्, जो ०६४ र ०७० सालको संविधानसभामा जनकपुर सहर पर्ने क्षेत्रबाट निर्वाचित भएका थिए। अन्तर्वार्ता प्रसारण हुने समय (साँझ ७) भन्दा आधा घन्टाअघि नै साहका समर्थक गाडीमा ठुल्ठूला स्पिकरसहित सहरका प्रमुख चोकमा भेला भइसकेका थिए। स्पिकरमार्फत परसम्म सुनिने गरी अन्तर्वार्ता सुनाइएको थियो।

डिल्लीबजार जेलमा रहँदा साह निधिको पक्षमा सक्रिय भएका थिए। र, उनले भोटमा पार्नसक्ने प्रभावबारे चर्चा सुरु भएको थियो। बिहीबार काठमाडौंबाट सिरहा कारागार ल्याएपछि उनका समर्थकले राजपा उम्मेदवार राजेन्द्र महतोविरुद्ध प्रचारबाजी सुरु गरिसकेका थिए। सरुवा भई केही दिनअघि सिरहा जेलमा आएपछि धनुषा ३ को चुनावी दंगलमा साहको चर्चा चुलिएको छ। साहका समर्थक जनकपुरबाट ३ घन्टा यात्रा गर्नुपर्ने सिरहा पुगेर उनको निर्देशन लिइरहेका छन्।

जनकपुर बम विस्फोट, सञ्चार उद्यमी अरुण सिंघानिया हत्याका साथै सम्पत्ति शुद्धीकरण मुद्दा झेलिरहेका साहको दुई हेभिवेट प्रतिस्पर्धा गरिरहेको क्षेत्रमा यति धेरै चर्चा किन ? धनुषा-३ को चुनाव निधि र महतोको राजनीतिक भविष्यको टर्निङ प्वाइन्ट हुने अनुमान गरिएको छ।

कांग्रेस नेतृत्वमा पुग्न सक्ने ठानिएका निधि चुनाव हारेपछि पर्न सक्छन्। राजपा अध्यक्ष मण्डलमा महन्थ ठाकुरपछिको नेता ठानिएका महतोलाई लगातार दोस्रो पराजयले धक्का लाग्नेछ। तर, चुनावी नतिजा कसको पक्षमा जान्छ भन्ने ठोकुवा गर्न सकिने अवस्था छैन, मतदाता नै नेक टु नेक प्रतिस्पर्धा हुने भनिरहेका छन्।

यस्तो प्रतिस्पर्धामा महतोलाई जान सक्ने थोरै मात्र निधिको पक्षमा पारिदिन सके त्यही निर्णायक हुने भएकाले साहको महत्व चुलिएको छ। जेलबाटै निधिको पक्षमा सक्रिय हुन थालेपछि महतो पक्ष चिन्तित देखिन्छ। स्थानीय चुनावमा जनकपुर उपमहानगरपालिकामा राजपाको प्रचार संयोजन गरेका धमेन्द्र साह सञ्जय निकट हुन्। सञ्जयले निधिलाई समर्थन गरेपछि उनी अहिले चुपचाप बसिरहेको बताउँछन्। निधि पक्षचाहिँ केही न केही फाइदै हुने अनुमान लगाइरहेको छ।

जनकपुरमा बाहुबलको भरमा गरिने ठेकेदारीमा निधिनिकट जीवनाथ चौधरीसँग टक्करका कारण साहको निधिसँग दुस्मनी नै थियो। तर, यसपालि राजेन्द्र महतोसँग प्रतिस्पर्धा सजिलो नहुने ठम्याएरै हुनुपर्छ निधिले साहसँग दोस्ती गरेका छन्। उनले आफ्नै पार्टीका अध्यक्ष महतोसँग दुस्मनकै व्यवहार गरिरहेका छन्।

पहिलो संविधानसभामा मधेसी जनअधिकार फोरमको टिकटमा जितेका साह दोस्रो संविधानसभामा महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टीबाट चुनाव जितेका थिए। महतोले नै साहलाई बम काण्डमा फसाएको सन्देश उनका समर्थकले मतदातासमक्ष भनिराखेका छन्। उनका समर्थकले राजेन्द्र महतो बहुरुपिया, घुसपैठिया लेखेको ब्यानरसहित गाडीमा सहर घुम्न थालेपछि आइतबार उनका ६ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको थियो।

जसको निधिसमर्थकले विरोध गरेका थिए। एकातर्फ आफूलाई सच्चा मधेसवादी रहेको दाबी गर्ने साह अर्कोतिर राजपाका प्रमुख नेता महतोविरुद्ध खुलेरै प्रचारबाजी गर्दा उनको राजनीतिक चरित्रमाथि नै यस क्षेत्रका बुद्धिजीवीले प्रश्न उठाउन थालेका छन्।