राजनीति

लोकतन्त्र जोगाउन काँग्रेसलाई मत दिनुहोस् : गच्छदार

पथरी, मोरङ । नेपाली काँग्रेसका नेता एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले जनताको अधिकार स्थापित गर्न र लोकतन्त्र जोगाउनका लागि काँग्रेसलाई आसन्न निर्वाचनमा मतदान गर्न आग्रह गरेका छन् ।

मोरङको बूढीगंगा गाउँपालिकास्थित कोइलपुरमा आज काँग्रेसद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता गच्छदारले काँग्रेसले लोकतन्त्रका लागि गरेको त्याग र जंगलमा रहेको माओवादीलाई शान्ति सम्झौतामा ल्याएको चर्चा गरे ।

उनले भने, “हतियार बोकेर लडाई गरेको माओवादीलाई हामीले शान्ति प्रक्रियामा ल्याएका छौँ र उनीहरुलाई संस्कार सिकाउने प्रयत्न गरिरहेका छौँ ।” मन्त्री गच्छदारले आफूले सात वर्ष जेल बसेको बताउँदै आफूजस्ता धेरै प्रजातन्त्रवादी जेल बसेको सुनाए ।

कार्यक्रममा मोरङ क्षेत्र नं ६ का काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार डा शेखर कोइरालाले हिमाल, पहाड र तराई जोड्दै लोकतन्त्रलाई बलियो बनाउने र विकास समृद्धि काँग्रेसको लक्ष्य भएकाले सो पार्टीलाई मतदान गर्न आग्रह गरे ।