पु.समाचार

बम विष्फोटमा घाइते म्यादी प्रहरीको मृत्यु

काठमाण्डौ ।  बम बिस्फोटबाट घाइते भएका म्यादी प्रहरी तुलसीपुर–१२ उरहरीका २३ बर्षीय बिनोद चौधरीको मृत्यु भएको छ । तुलसीपुरमा मंगलबार अपरान्ह प्रधानमन्त्री एवं काँग्रेस सभापति शेर बहादुर देउवाले सम्बोधन गर्ने काँग्रेसको चुनावी सभालाई लक्षित गरी बम विष्फोट हुँदा चौधरी घाइते भएका थिए । उनको नेपालगञ्जमा उपचारका क्रममा राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

बिस्फोटबाट नौ जना घाईते भएका थिए । घाईते मध्ये चार जनाको अवस्था गम्भीर थियो । अन्य गम्भिर घाइतेहरु बबई गाउँपालिका–६ पञ्चकुलेका ३६ बर्षीय नेपबहादुर खत्री, तुलसीपुर–७ डाँडापातुकी २२ वर्षीया जेनी डिसी र बागचौर नगरपालिका–२ थारमारे सल्यानकी ४० बर्षीया देवी डीसीको पनि नेपालगञ्जमै उपचार भैरहेको छ ।

तुलसीपुर –१२ उरहरीकै सर्वसाधारण १९ बर्षीय बिनोद चौधरी, तुलसीपुर–१७ मानपुरका ४० बर्षीय बोमराज सुनार, शान्तिनगर गाउँपालिका–२  अमुवाका ५० बर्षीय हिमलाल राम्जाली, बबई–६ बुड्कवाकी १८ बर्षीया सुनिता चौधरी  र सल्यान ढोरचौर गाउँपालिका–२ चाख्लीघाटकी ४५ बर्षीया नरभूमी बुढाथोकीको तुलसीपुरमै उपचार भैरहेको छ ।