खेलकुद

रियल मड्रिड अन्तिम १६ मा प्रवेश

एजेन्सी ।  रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा तेस्रो डिभिजनको फुएनलाब्रादासँग २–२ को बराबरीमा रोकिए पनि समग्रमा ४–२ को जितसहित  रियल मड्रिड अन्तिम १६ मा पुग्न सफल भएको हो ।

तेस्रो डिभिजनको क्लबसँग पराजित हुन नदिन रियल मड्रिडका लागि दुवै गोल बोर्जा मायोरलले गरे । दुवै गोलका लागि दुई महिनापछि मैदान फर्किएका ग्यारेथ बेलले सहयोग गरे । बेल काल्फ इन्जुरीका कारण दुई महिनादेखि मैदान बाहिर थिए । उनी मंगलबार रातिको खेलबाट मैदान फर्किएका हुन् । चोटपछिको मैदान आगमनमा उनले राम्रो प्रदर्शन गरेका छन् ।

१९ पटकको कप विजेता रियल मड्रिडका लागि दोस्रो लेगमा ६२ र ७० औं मिनेटमा  गरी मायोरलले गोल गरेका हुन् । त्यसअघि २५ औं मिनेटमा मिल्लाको गोलबाट फुएनलाब्रादाले अग्रता लिएको थियो ।

८९ औं  मिनेटमा पार्टिल्लाले फुएनलाब्रादाका लागि बराबरी गोल गरे । लेगानेस, सेल्टा डि भिगो र लेभान्टे पनि समग्रमा जित निकाल्दै कोपा डेल रे को अन्तिम १६ मा पुगेका छन् ।