पु.समाचार

एमाले–माओवादीको एकतापछि ओली र दाहालले के जिम्मवारी पाउलान् ? दाहालले खोले यस्तो रहस्य

काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनाव परिणामलगत्तै माओवादी र एमालेबीचको एकतापछि एकीकृत पार्टीको अध्यक्ष वा मुलुकको प्रधानमन्त्रीमध्ये एकमा आफू र अर्कोमा केपी शर्मा ओली हुने स्पष्ट पारेका छन्।

भरतपुरबाट ३० किलोमिटर पश्चिममा पर्ने मेघौलीमा आयोजित कार्यक्रमपछि दिवा खानाका साथ मंगलबार दाहालले भने, ‘माओवादी र एमालेबीच एकीकृत हुने। एकीकृत पार्टीले पार्टी अध्यक्ष, मुलुकको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखजस्ता महत्वपूर्ण पदमा सहमतिका साथ भागवण्डा गर्ने वाम गठबन्धन घोषणाका क्रममै भएको सहमतिमा उल्लेख छ।’

आफू र ओलीले एकीकृत पार्टीपछि के पद पाउने भन्दा पनि सात दशकदेखि जनताले प्रतीक्षा गरेको विभाजित कम्युनिस्टबीचको एकता ठूलो कुरा हुने उनले तर्क गरे।त्यसैले हामी दुईका लागि पदभन्दा पार्टी एकता ठूलो कुरा हो उनले भने। ‘कुनै न कुनै कार्यकारी पदमा म हुन्छु’, दाहालले हर्षका साथ भने।

माओवादी र एमालेबीच एकताको उद्देश्य अधिनायकवाद जन्माउने नभएर शान्तिप्रक्रियालाई पूर्णता दिनु र संविधान कार्यान्वयनमा सफलता पाउनु रहेको दाहालको दाबी थियो।उनले भने, ‘एमाले र माओवादीको एकता अधिनायकवाद जन्माउन नभई मुलुकको शान्ति र स्थायित्वमा केन्द्रित रहन्छ।

वामपन्थीविरुद्ध जति नै दक्षिणपन्थी दुष्प्रचार भए पनि जनताले स्थानीय, प्रदेश र प्रतिनिधिसभामा वामपन्थीलाई बहुमत दिलाउने जनआवाज आफूले मुलुकभरका चुनाव प्रचारका क्रममा सुनेको दाबी दाहालले गरे।

आफ्नो चुनावी क्षेत्र यकिन हुन नसक्नुका कारणको जिज्ञासामा दाहालले भने, ‘मुलुकको एकता हो। दस बर्से जनयुद्ध र राजधानीलाई एकाकार गर्न मैले पहिलो संविधानसभामा रोल्पा र काठमाडौं रोजें, शान्ति प्रक्रिया र संविधान निर्माणलाई सफल गराउँदै मधेसलाई राजधानीमा एकाकार गराउन काठमाडौं र सिरहा रोजें भने अहिले राष्ट्रिय एकता आवश्यक भएकोले चितवन आएँ।’

दश बर्र्से जनयुद्धबाट शान्तिप्रक्रिया हुँदै दुई-दुई पटक सत्ता नेतृत्वमा रहेका दाहालले समाजवादउन्मुख आर्थिक सामाजिक विकासका आधारमा ‘समृद्ध नेपाल विकशित चितवन’ ३० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।पुत्र प्रकाशको निधनपछि केही समय चुनाव प्रचारमा सुस्तता आए पनि शुक्रबारदेखि दाहालले चुनावी प्रचारलाई तीव्रता दिएका छन्।

बुधबारको अन्नपूर्णमा लेखिएको छ, चुनावी सभामै दाहालले चितवनलाई विकासको नमुना र एसियाकै समृद्ध सहरमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।दाहालले चितवनको विकासका लागि सात वटा नगरपालिका एकीकरण गरी ‘चितवन मेट्रो सिटी’ बनाउने, पाँच वर्षभित्र ५० हजार रोजगारी सिर्जना गर्ने, भूमिहीन २० हजार सुकुम्बासीका लागि आधुनिक आवास गृह निर्माण गर्ने, राष्ट्रिय निकुञ्जमा सुरुङमार्ग वा फ्लाई ओभरमध्ये एक निर्माण गर्ने, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्तरोन्नति र सेवालाई व्यवस्थित बनाउने, भरतपुर अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन्।

उनीसँग अन्नपूर्णले गरेको कुराकानी

प्रश्न: वाम गठबन्धनलाई लोकतन्त्रविरोधी र अधिनायकवादतर्फ उन्मुख भन्ने आरोप लगाइएको छ यो आरोपप्रति तपाईंको धारणा के छ ?

उत्तर: शान्तिप्रक्रियाको कट्टर हिमायती र संविधान निर्माण गरी कार्यान्वयनका लागि चुनावमा जाने पार्टी अधिनायकवादी शक्ति हुनै सक्दैन। शान्तिप्रक्रियाका दुई अनुयायीमध्ये एक म भएकोले अधिनायकवाद सोच्न पनि सक्दिनँ। कांग्रेसलगायत दक्षिणपन्थीको आरोपमा कुनै सत्यता छैन। त्यसैले मैले भनिसके एमाले र माओवादीको पार्टी एकीकरणको उद्देश्य राष्ट्र र जनताको आर्थिक समृद्धि नै हो।

प्रश्न: एमालेसँगको चुनावी गठबन्धन र लगत्तै हुने पार्टी एकताका लागि भएको भद्र सहमति कार्यान्वयन हुन्छ ?

उत्तर: हुन्छ। म र ओली दुवै नेता सहमतिमै कार्यकारी भूमिकामा जान्छौं। राष्ट्रपति, प्रधानमन्त्री, सभामुखजस्ता पद आपसी सहमतिमा बाँडफाँट हुनेछ। नेपालको राज्यसत्तामा वामपन्थीको एकमाना सरकार सात दशकदेखिको आम नेपालीको चाहना हो।

प्रश्न: छिमेकीप्रति एकीकृत पार्टीको रणनीति कस्तो हुनेछ ?

उत्तर: आगामी दिनमा कुनै पनि छिमेकीको स्वार्थमा नेपालमा सत्ता स्वार्थका लागि विभाजन हुँदैन। चीन र भारतसँग सन्तुलित सम्बन्ध हुनेछ। नेपालले दुवै छिमेकीबाट कसरी फाइदा लिने भन्ने आधारमा विदेश नीति तय गरिनेछ।

प्रश्न: प्रतिनिधि र प्रदेशसभा भावी परिणामबारे केही बताइदिनु हुन्छ ?

उत्तर: स्पष्टै छ, वामपन्थी गठबन्धनको सानदार जित हुनेछ। आम जनता परिवर्तनपछिको राजनीतिक अस्थिरताबाट वाक्क भइसके। शान्ति, स्थायित्व र सुशासन आम जनताको मागका रूपमा आफूले हेरिरहेको हुँदा वामपन्थीको पक्षमा दुई तिहाइ मत हुने कुरामा आशंका नगरे हुन्छ। यो निर्वाचन परिवर्तनलाई संस्थागत गराउनु रहेको मेरो बुझाइ छ।

प्रश्न: तपाईंका ३० बुँदे चुनावी प्रतिबद्धता पूरा गर्ने आधार र प्रक्रिया के के हुन् ?

उत्तर स् स्थानीयमा झैं प्रदेश र केन्द्रमा पनि स्पष्ट दुई तिहाइको मत, परिवर्तन अनकूलको राज्य संयन्त्रको सञ्चालन र ठूला परियोजनाको निरन्तरता नै हो। माओवादी र एमालेले आगामी केही दिनमा सञ्चालन गर्ने राज्य व्यवस्थाले चाँडोभन्दा चाँडो जनताबीच त्यसको सन्देश दिनेछन्।