राजनीति

कम्युनिष्ट शासन आए अन्याय भयो भन्न पनि पाइँदैन, त्यसैले काँग्रेसलाई जिताउनुस् : प्रधानमन्त्री

तुलसीपुर, दाङ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रबिना मुलकले समृद्धि नपाउने भएकाले जनताले लोकतन्त्रका पक्षधर काँग्रेसलाई विजयी बनाउन आह्वान गरेका छन्।

काँग्रेस दाङ क्षेत्र नं ३ ले आज तुलसीपुरमा आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले एकदलीय कम्युनिष्ट अधिनायकवाद मुलुकका लागि स्वीकार्य नहुने बताए । उनले सत्ता स्वार्थ, लोकतन्त्र र संविधान समाप्त गर्ने उद्देश्यले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले वाम गठबन्धन गरेको टिप्पणी गरे । “वाम गठबन्धन अप्राकृतिक छ, यसले देशलाई थप अस्थिरतातर्फ धकेल्नेछ”–सभापति देउवाले भने ।

प्रधानमन्त्री देउवाले दाङमा रहेको विमानस्थलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन दंगाली जनतालाई काँग्रेसको पक्षमा मतदान गर्न समेत अपिल गरे।

सभालाई सम्बोधन गर्दै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनलाई अनिष्टको संज्ञा दिँदै त्यसको कुनै औचित्य नभएको टिप्पणी गरे । “नेपाली जनता अधिनायकवाद रोज्दैनन् यसलाई निर्वाचनमाफर्त जनताले परास्त गर्छन्”–पौडेलले भने।

काँग्रेस नेता डा शशांक कोइरालाले मुलुकको समृद्धि र लोकतन्त्रलाई संस्थागत गर्न काँग्रेसलाई मतदान गर्नुपर्ने बताए ।

दाङ क्षेत्र नं ३ का उम्मेदवार दीपक गिरी, श्रमराज्यमन्त्री तथा दाङ क्षेत्र नं ३ को (क) का उम्मेदवार डिल्लीबहादुर चौधरी, क्षेत्र नं ३ को (ख) का उम्मेदवार बृद्धिराम भण्डारी, समानुपातितर्फका उम्मेदवार पार्वती डिसी चौधरी, शङकर गिरीलगायतले काँग्रेसका पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।

यसैबीच, घोराहीमा अयोजित अर्को चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक दलीय कम्युनिष्ट शासन लाद्ने पार्टीलाई रोज्ने कि जनतालाई मालिक बनाउने
पार्टीलाई रोज्ने भन्ने समय आएको बताएका छन् ।

कम्युनिष्टको शासन आए जनताले राम्रोसँग आफ्नो अधिकारका लागि बोल्न पनि नपाउने बताए । “कम्युनिष्ट शासन आए अन्याय भयो भन्न र रुन पनि पाइँदैन, त्यसैले काँग्रेसलाई जिताउनुस् । त्यसपछि मात्रै जनताको अधिकार सुनिश्चित हुन्छ ।”