पु.समाचार

बाढीपीडितलाई राहतस्वरुप रु १५ हजार

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यस वर्षको बाढीबाट प्रभावित तराईका जिल्लाका पीडितलाई राहतस्वरुप प्रतिपरिवार रु १५ हजार वितरणको जिम्मेवारी पाएको छ ।

मन्त्रिपरिषद्को निर्णयानुसार प्राधिकरणले जिम्मेवारी प्राप्त गरेपछि प्रक्रिया प्रारम्भ गरेको हो । बाढी तथा डुबानबाट पूर्णरुपमा घर क्षति भएका ४१ हजार ६२६ घरपरिवारलाई राहत वितरण गर्ने सरकारको निर्णय छ ।

त्यसैगरी बाढीबाट प्रभावित सबै पीडितलाई जाडोबाट जोगाउन न्यानो कपडा किन्नका लागि प्रतिघरपरिवार अलग्गै रु १० हजारका दरले अनुदान उपलब्ध गराउने कार्य पनि सँगसँगै अगाडि बढाइएको छ ।

प्राधिकरणमार्फत सञ्चालन हुने अनुदानको वितरण सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले गर्नेछन् । यस वर्षको बाढीबाट अतिप्रभावित १८ जिल्लाका १३४ को ज्यान गएको थियो । बाढीबाट भएको क्षतिको पुनःनिर्माणका लागि रु ७३ अर्ब २२ करोड ४८ लाख लाग्ने राष्ट्रिय योजना आयोगद्वारा तयार गरिएको बाढीपछिको पुनःस्थापना आवश्यकता आँकलन प्रतिवेदनमा अनुमान गरिएको छ ।

आयोगका अनुसार बाढीले आवास, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, सिँचाइ, यातायात, पानी तथा सरसफाइ र ऊर्जा क्षेत्रमा रु ६१ अर्ब ८४ करोड ४८ लाख बराबरको क्षति पु¥याएको थियो । बाढी तथा डुबान प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनःनिर्माण गराउने विषयको अध्ययन, नीतिगत सम्बोधन र पुनःनिर्माणको समन्वय गर्न गत कात्तिक ६ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरण मातहत रहने गरी बाढी पुनःनिर्माण तथा पुनःस्थापना आयोजना गठन गरेको थियो ।