राजनीति

नतिजा वाम गठबन्धनको पक्षमा आउँछ : अध्यक्ष ओली

नेपालगन्ज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा वाम गठबन्धनको पक्षमा आउने बताएका छन् ।

वाम गठबन्धनद्वारा आज यहाँ आयोजित चुनावी सभामा उनले भने, ‘“म मुलुकको जुनजुन ठाउँमा गए, वाम गठबन्धनकै पक्षमा जनलहर उर्लिएको पाएँ, यसले अबको सरकार वाम गठबन्धनको हुने संकेत दिएको छ ।”

अध्यक्ष ओलीले वाम गठबन्धनको सरकार बन्यो भने सबै नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेर आर्थिक समृद्धि र विकासको बाटोमा मुलुकलाई अघि बढाइने विश्वास दिलाए ।

“हामी सबै नेपालीको सम्मान र समान आदर गर्छौं, हाम्रो सहअस्तित्वको जगेर्नाबाट मात्र राष्ट्रिय एकता र स्वाभिमानलाई जीवन्त राख्न सकिन्छ”, उनले भने ।

अध्यक्ष ओलीले संविधान निर्माणपछि यसको कार्यान्वयनको बाटो सहज थिएन, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि यसको कार्यान्वयनको मार्ग प्रशस्त हुनेछ र मुलुकलाई स्थिर राजनीतिको मार्गमा हिँडाइनेछ भने ।

नेकपा (माओावादी केन्द्र) का नेता रामबहादुर थापाले ‘यो चुनाव हामी बहुमतले जित्दैछौं, अब बन्ने कम्युनिष्टको शक्तिशाली सरकारले मुलुकमा औद्योगिक र आर्थिक क्रान्तिको ढोका खोल्नेछ’, भने ।