पु.समाचार

मत सर्वेक्षण गर्नु निर्वाचन आचारससंहिता विपरित

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताएका छन् ।
आज निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँग कुरा गदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको मतदान सम्पन्न भएको र दोस्रो चरणको मतदान यही मङ्सिर २१ गते हुन लागेको सन्दर्भमा निर्वाचनलाई लिएर मत सर्वेक्षण गरिनु निर्वाचन आचारसंहिता विपरित हुने बतए ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचत आचारसंहिता विपरित कसैले निर्वाचनलाई लिएर मत सर्वेक्षण गरेमा निर्वाचन आचारसंहिता उल्लङ्न गरेवापतको कारवाही हुने स्पष्ट गरे ।
उहाँले निर्वाचन आचारसंहिता विपरित गरिने मत सर्वेक्षणबाट स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गराउने कार्यमा समेत नकारात्मक प्रभाव पर्ने बताए ।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आचारसंहिता विपरित गरिने मत सर्वेक्षणलाई सञ्चार माध्यममा स्थान नदिन समेत आम सञ्चार माध्यमहरूसँग आग्रह गरे ।
निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद – २ को ४ (त) मा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मत परिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने उल्लेख छ ।