आर्थिक

नयाँ स्टक एक्सचेन्ज खोल्न सहमति माग्दै पुनः छलफल सुरु

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको भूमिका प्रभावकारी नभइरहेको विद्यमान अवस्थामा थप नयाँ टक एक्सचेन्ज आवश्यक छ या छैन भन्ने बहस पुनः सुरु भएको छ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज खोल्न दिनेबारे सहमति माग्दै अर्थ मन्त्रालयमा पत्र पठाएपछि पुनः छलफल सुरु भएको हो ।

अर्थ मन्त्रलायले यस विषयमा निर्णय लिन सरोकारवालासँग छलफल सुरु गरेको छ । छलफलका क्रममा अधिकांश सरोकारवाला निकायका प्रतिनिधिले नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा ल्याउँदा फरक नपर्ने प्रतिक्रिया दिए ।

त्यसै क्रममा नेपाल राष्ट्र बैंकका प्रतिनिधिले भने अर्को स्टक एक्सचेन्ज आवश्यक नरहेको प्रतिक्रिया दिए । नेप्सेमा नेपाल राष्ट्र बैंकको ३४ दशमलव ६० प्रतिशत सेयर छ ।

बैठकमा नेप्सेमा नवनियुक्त महाप्रबन्धक चन्द्रबहादुर साउदले भने खासै कुनै प्रतिक्रिया दिएनन् । उनले नियुक्ति पाएदेखि नै नयाँ स्टक एक्सचेन्ज थप गर्दा खासै फरक नपर्ने प्रतिक्रिया दिँदै आएका छन् । नयाँ स्टक एक्सचेन्ज खोल्न सहमति माग्दै बोर्डले अर्थमा पत्र पठाएपछि नेप्सेका कर्मचारी भने अर्थ मन्त्रालय पुगेर त्यसको विरोध गर्न थालेका छन् । राजनीतिक संक्रमणका बेलामा नयाँ स्टक एक्सचेन्ज खोल्न दिन नहुने भन्दै अर्थका अधिकारीलाई नेप्सेका कर्मचारीले दबाब दिएका थिए ।

स्रोतका अनुसार बोर्डले राजनीतिक संक्रमणकै बेला पारेर नयाँ स्टकका लागि बाटो खोल्न खोजेको थियो । यसमा बोर्डको भित्री स्वार्थ लुकेको अनुमान गरिएको छ । बिर्डले विगतदेखि नै नयाँ स्टक एक्सचेन्जको पक्षमा वकालत गर्दै आइरहेको छ । नेप्सेका यसअघिको नेतृत्वले त्यसको कडा प्रतिवाद गर्दै आएका कारण यो प्रक्रिया पछि धकलिँदै आएको हो ।

नयाँ स्टक एक्सचेन्ज थप गर्ने वा भएकैलाई थप प्रभावरी बनाउने भन्ने बहस अहिले आवश्यक छ । यो दीर्घकालीन महत्वको विषय पनि भएकाले हचुवाको भरमा निर्णय लिन नहुने विज्ञहरूको सुझाव छ ।

निजामती कर्मचारीलाई कम्तिमा ५०० मेगावाटको सेयर दिनुपर्छ   : महरा
अर्थ मन्त्रलाय पनि तत्काल नयाँ स्टक एक्सचेन्ज खोल्न दिने पक्षमा देखिएको छैन । राजनीतिक संक्रमणका बेलामा नयाँ स्टक खोल्न सहमति दिँदा अर्को सरकारको अपजस पाइने डरले सहमति दिने पक्षमा नरहेको अर्थका एक अधिकारीले बताए । त्यही कारणले अर्थले सरोकारवालाहरूको छलफल बोलाएको उनको भनाइ छ ।

नेप्सेमा हाल नेपाल सरकारको ५८ दशमलव ६६ प्रतिशत, नेप्सेमा नेपाल राष्ट्र बैंकको ३४ दशमलव ६० प्रतिशत, एनआईडीसीको ६ दशमलव १२ प्रतिशत र सेयर ब्रोकरको शून्य दशमलव ६२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।