राजनीति

छिटफुट घटना बाहेक प्रदेश सभा र प्रतिनिधि सभाको पहिलो चरणको निर्बाचन यसरी भयो सम्पन्न

काठमाण्डौ । आईतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन ३२ जिल्लामा नै शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको निर्बाचन आयोगले जनाएको छ । प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ७४ निर्वाचन क्षेत्रमा भएको मतदान कार्य ऐतिहासिक रूपमा सफल भएको छ । पहिलो चरणको निर्वाचनका लागि कायम भएका ४ हजार ४६५ मतदान केन्द्रमध्ये छिटफूट बाहेक सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

केही मतदान केन्द्रमा मतदान प्रतिनिधि समयमा उपस्थित नभएका कारणले केही ढिलो मतदान आरम्भ भएपनि सबै मतदान केन्द्रहरूमा तोकिएकै समयमा निर्वाचन शुरू भएको थियो । अधिकाँश मतदान केन्द्रमा विहान ७ बजे अगाडिदेखि नै मतदाताहरू मतदानका लागि उत्साहपूर्वक पङ्क्तिबद्ध भएका थिए ।

उत्साहजनक मतदान गर्न उपस्थित भएपछि प्रारम्भिक विवरण अनुसार ६५ प्रतिशतभन्दा बढी मतदान भएको जानकारी आयोगले दिएकोृ छ । आईतबार सम्पन्न भएको पहिलो चरणको निर्बाचनमा सबैभन्दा बढी बाजुरा जिल्लामा ८० प्रतिशत मतदान भएको छ । मतदानमा खसेको मत प्रतिशतको आँकडा अझ बढ्नसक्ने आयोगले अनुमान गरेको छ ।

स्थगित भएका मतदान केन्द्रमा मुख्य निर्वाचन अधिकृतले छिट्टै नै पुनः मतदान गर्ने आयोगले बताएको छ । यसरी ४ हजार ४६५ मतदान केन्द्रमध्ये दुईवटा मतदान केन्द्रमा मात्र पुनः मतदान हुने भएको छ ।
मतदान सम्पन्न भए लगत्तै सबैै मतपेटिका सुरक्षित तवरबाट जिल्ला सदुरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरेको छ । यसरी संकलन भएका मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहन्छन् । मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय र राजनीतिक दल तथा उम्मेदवारहरूको सहमतिमा विश्वसनीय ढंगबाट सुरक्षित स्थानमा राख्ने प्रवन्ध मिलाइएको छ । यही मङसिर २१ गते दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान सकिए लगत्तै मतगणना शुरू गर्ने व्यवस्था मिलाइएको छ ।