पु.समाचार

आज ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभामा उत्साहपूर्ण रुपमा निर्बाचन हुंदै

काठमाण्डौ । मंसिर १० गते आइतबार ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा पहिलो चरणको निर्बाचन शुरु भएको छ । आज बिहान ७ बजे आ–आफ्नो मतदान केन्द्रमा उत्साहका साथ उपस्थित भई मतदानमा सरिक भएको देखिएको छ ।

मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदाताको मताधिकारलाई  सुनिश्चित गरेको छ । मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरेपछि मतदान गर्न अझ सहज भएको छ ।
आइतबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्नुहुने मतदाताले मात्रै मतदान गर्न पाउने छन्। कुनै पनि मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान नगर्न र कसैले त्यस्तो गैरकानुनी कार्य गरेमा कानूनबमोजिम सजायको भागी हुनुपर्ने  छ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणमा जम्मा ७०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । पहिलो चरणको निर्वाचनमा जम्मा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नुहुने छ भने आज सम्पन्न हुने निर्वाचनमा दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्रमा मतदान हुँदैछ ।

आयोगले अनुमति प्रदान गरेका राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले यस निर्वाचनमा पर्यवेक्षण गर्दैछन् । पर्यवेक्षकहरूबाट नेपालको कानून, निर्वाचन आचारसंहिता र पर्यवेक्षकले पालना गर्नुपर्ने आचारसंहिताको पर्यवेक्ष हुनेछ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको यस निर्वाचनबाट संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयन हुने र संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ भई राज्यको पुनर्संरचना हुन गई विद्यमान संक्रमणकालको अन्त्य हुने छ । साथै, यस निर्वाचनपछि मुलुकमा दीगो आर्थिक विकास हुने र देश सम्वृद्धितर्फ लम्कने छ भन्ने गणतन्त्रमा बिश्वास गर्ने सरोकारवालाहरुको बिश्वास गरेका छन् ।