पु.समाचार

कांग्रेस महामन्त्री कोइराला र उद्योगमन्त्री थापा बमको निशानामा

नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको निर्वाचन प्रचार–प्रसार कार्यलय अगाडि प्रेसर कुकर बम भेटिएको छ । नवलरासीको देवचुली नगरपालिका २ मा प्रेसर कुकर बम भेटिएको हो । सो स्थानमा कांग्रेसको प्रचार–प्रसार कार्यलय रहेको थियो ।

कुकर बम कसले राखेको यकिन नभए पनि विप्लव नेतृत्वका नेपाल कम्युनिस्ट पार्टीले राखेको अनुमान गरिएको छ । बम निष्क्रय पार्नका लागि नेपाली सेनाको बम डिस्फोजल टोली बोलाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बिहान ५ बजेतिर गाउँलेले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त बम राति २, ३ बजेको समयमा राखेको हुन सक्ने अनुमान गरिएको छ । सो बम राख्नुको उद्धेश्य महामन्त्री कोइरालामाथिको निशाना साँधेको अनुमान गरिएको छ ।

त्यस्तै, उद्योग मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका प्रतिनिधि सभाका उम्मेदवार सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा शुक्रबार विष्फोट गराईएको छ ।

धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमी गाउँपालिकाको साप्तिङटार नजिक फक्सिङ खोलामा अज्ञात समुहले विहान सााढे ७ बजेतिर विष्फोट गराएको हो । प्रहरीले विष्फोट भएको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ ।

घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको बताइएको छ । राप्रपा प्रजातान्त्रिकका महामन्त्री समेत रहेका थापा चुनावी अभियानका क्रममा साप्तिङटार जादै थिए ।

मन्त्री चढेको गाडीलाई लक्षित गरेको भए पनि मन्त्री सवार गाडी घटनास्थलबाट करिब २ सय मिटर अगाडी बढिसकेकाले कुनै क्षति नभएको स्थानीयले बताएका छन् ।