सामाजिक सञ्जाल

सामाजिक सञ्जालमार्फत यसरी गरिदैछ उम्मेद्वारको विज्ञापन, करोडौ रकम बाहिरिदै

काठमाण्डौ । मंसिर १० र २१ गरी दुई चरणमा हुन गइरहेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा सामाजिक सञ्जालमा ‘स्पोन्सर’को नाममा मुलुकबाट करोडौँ रुपैयाँ बाहिरिँदै छ ।

सामाजिक सञ्जालमा ‘पेज स्पोन्सर’ र ‘पोस्ट बुस्ट’का नाममा प्रतिउम्मेदवारले औसतमा हजार डलर खर्च गरिरहेको फेसबुक स्पोन्सर गराउँदै आएका विज्ञापन एजेन्सीले बताएका छन् ।

दुवै चुनावको प्रतिस्पर्धामा रहेका कुल उम्मेदवार संख्याको एक चौथाइलाई आधार मान्दा मात्रै पनि सामाजिक सञ्जालमा स्पोन्सरका नाममा १३ करोड ७७ लाख रुपैयाँभन्दा धेरै रकम बिदेसिएको देखिन्छ ।

जुनसुकै सामाजिक सञ्जाल स्पोन्सर गर्न आवश्यक रकम सम्बन्धित सामाजिक सञ्जाललाई पठाउनुपर्ने एक विज्ञापन एजेन्सी सञ्चालकले बताए । उनीहरूले सो रकमबाहेक निश्चित सेवा शुल्क लिने गरेका छन् ।

शक्रुबारको नयाँ पत्रिकामा लेखिएको छ,  प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा क्रमशः ३ हजार ४ सय ४८ र २ हजार ६२ गरी कुल ५ हजार ५ सय १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । त्यसमध्ये एक चौथाइ अर्थात् १ हजार ३ सय ७७ जनाले पेज तथा कन्टेन्ट स्पोन्सरमा १ लाखका दरले खर्च गर्दा पनि १३ करोड ७७ लाख रुपैयाँ चुनाव खर्चकै रूपमा बाहिरिएको छ । त्यसमध्ये अधिकांश अवैधानिक रूपमा जान्छ ।

यसकारण गरिन्छ सामाजिक सञ्जाल प्रवद्र्धन
फेसबुक तथा अन्य सामाजिक सञ्जालका प्रयोगकर्ताले सुविधाअनुसारका पेज तथा आइडी खोल्न सक्छन् । प्रयोगकर्ताको रूपमा व्यक्ति, कम्पनी, ब्रान्ड, संगठनलगायत जो पनि हुन सक्छन् । पछिल्लो समय अनलाइनमा आउने मानिसको संख्या बढ्दै गएको छ । व्यावसायिक उद्देश्य भएका तथा आफ्ना सूचना सामग्री व्यापक बनाउन चाहने प्रयोगकर्ताले धेरैभन्दा धेरै लाइक तथा फलोअर बढाउन पैसा तिरेर आफ्नो आइडी तथा पेजलाई स्पोन्सर तथा प्रमोट गर्न सक्छन् ।

यो एक किसिमको विज्ञापन नै हो । सामान्यतया लाइक तथा फलो गरिएका पेज तथा अकाउन्टबाट पोस्ट गरिएका सामग्री मात्रै प्रयोगकर्ताको न्युजफिडमा देखिने हुन्छ । तर, स्पोन्सर गर्दा भने लाइक तथा फलो नगरिएका पेज एवं प्रवद्र्धित सामग्रीसमेत सहजै लक्षित क्षेत्र र समूहका प्रयोगकर्ताको न्युजफिडमा देखिन्छ ।