पर्यटन/संस्कृति

नेपालमा पर्यटकहरुमा एक्कासि नकारात्मक असर पर्ने संकेत, अमेरिकाले खोल्यो मुख

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा बढ्दो बम विस्फोटनका घटनाले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असरपर्ने संकेत देखिएको छ। बम विस्फोटकै घटनालाई लिएर नेपालस्थित अमेरिकी दूतावासले नेपाल भम्रणमा रहेका आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।

दूतावासले बिहीबार विज्ञप्ति जारी गरी यही मंसिर १० र २१ गतेको निर्वाचनका बेला हुन सक्ने घटनाका विषयलाई लिएर अमेरिकी नागरिकलाई सुरक्षित रहन अपिल गरेको हो।

निर्वाचनको पूर्वसन्ध्यामा देखिएका आतंकको घटनाबाट सुरक्षित हुन आफैले होसियारी अपनाउनपर्ने दूतावासको भनाइ छ। दूतावासले आफ्ना नागरिकलाई मतदान स्थान, राजनीतिक दलको कार्यालय, उम्मेदवारको र्‍याली र मतदानका दिन र पछि हुनसक्ने अन्य घटनाबाट टाढा रहन आग्रह गरेको छ।

केही दिनदेखि उम्मेदारलाई लक्षित गर्दै बम पड्काउने तथा एम्बुस थाप्ने काम भइरहेको छ। बम विस्फोट गराएको भन्दै सरकारले विप्लव नेतृत्वको माओवादी पार्टीका कार्यकर्तालाई धमाधम समाउँदै आएको छ। तर, विरोध र विस्फोटको घटना नरोकिएको भन्दै दूतावासले आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ।

सोही घटनालाई लिएर दूतावासले मंसिर १० र मंसिर २१ गतेको निर्वाचनको बेला सुरक्षित तवरले आवतजावत गर्ने आफ्ना नागरिकलाई विज्ञप्तिमार्फत अपिल गरेको हो। विरोध, बन्द र राजनीतिक आन्दोलनका क्रममा नेपालभर कुनै पनि बेला जुनसुकै घटना घट्न सक्ने अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ भन्दै शुक्रबारको अन्नपूर्णमा लेखिएको छ ।