राजनीति

विप्लवका कार्यकर्ताको तिब्बती कनेक्सनबारे नयाँ रहस्यको खुलासा

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासँग मिलेमतो गरी आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्न लबिङ गर्दै हिँडेका एक तिब्बती शरणार्थीलाई पोखरा प्रहरीले पक्राउ गरेको छ ।

पोखराडाँडाको नाक क्षेत्रमा विप्लवका कार्यकर्तासँग निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सूचनाका आधारमा प्रहरीले तिब्बती शरणार्थी तासी वाङदुङलाई पक्रेको हो । वाङदुङको विप्लवका कार्यकर्तासँग गहिरो र पुरानो सम्बन्ध रहेको पाइएको प्रहरीले जनाएको छ । विगतमा पनि वाङदोङ पोखरा र काठमाडौंमा हुने विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले गर्ने कार्यक्रममा सक्रिय सहभागी हुन्थे । उनले गोप्य रूपमा निर्वाचनविरोधी गतिविधि लेखिएका पर्चा, पम्प्लेटलगायत बाँड्दै हिँडेका थिए ।

शुक्रबारको अन्नपूर्णमा लेखिएको छ,जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडगबहादुर खत्रीले विप्लवका कार्यकर्तासँगै निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सूचना पाएपछि वाङदुङलाई पक्राउ गरिएको बताए । खत्रीले भने, ‘वाङदुङलाई कसैले प्रयोग गरेका हुन् वा आफैँ निर्वाचनविरोधी गतिविधिमा संलग्न भएका हुन् भन्नेबारे थप अनुसन्धान भइरहेको छ ।’

पाली युवतीसँग विवाह गरेका उनले पोखरामा ट्याक्सी चलाउने काम गर्दै आएका थिए । वाङदुङ पोखराको पेन्जोलिङ तिब्बती क्याम्पमा बस्छन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । वाङदुङ मात्र हुन् वा अन्य शरणार्थी पनि विप्लवका कार्यकर्तासँग नजिकिएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । ‘संस्थागत रूपमा हाम्रो कुनै राजनीतिक दलसँग कुनै आबद्धता छैन’, एक तिव्बती क्याम्पका प्रमुखले भने, हामी शरणार्थीको रूपमा नै बसेका छौं । विभिन्न स्वार्थले व्यक्ति विशेषको कहीं, कतै कनेक्सन हुन सक्छ, त्यसमा हाम्रो समुदायले जिम्मा लिँदैन ।’

स्थानीय तहको निर्वाचनताकासमेत उनले विप्लवका कार्यकर्ताको नजिकै रहेर निर्वाचनविरोधी गतिविधि गरेको र आसन्न निर्वाचनमा समेत उनले सक्रिय भूमिका निर्वाह गर्नसक्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीमाथि सार्वजनिक मुद्दा लगाएको छ । उनी स्पष्ट नेपाली बोल्न सक्छन् । वाङदुङ एक्लै हुन् या अन्य तिब्बती शरणार्थी पनि विप्लवका कार्यकर्तासँग नजिकिएका छन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।