पु.समाचार

काज सरुवा गर्ने निर्णयको सक्कलै फाइल २४ घण्टाभित्र पेश गर्न निर्देशन

काठमाडौं । गृह मन्त्रालयले छ जना कर्मचारीहरुको काज सरुवा गरी आयोगको सहमतिका लागि पत्र लेखी पठाएकोमा आयोगले सहमति प्रदान नगर्ने निर्णय गरेको छ । आयोगले पत्र पाएको २४ घण्टाभित्र सक्कलै फाइल उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले काज सरुवा गरेका रा.प. द्वितीय श्रेणीका छजना कर्मचारीमध्ये तीनजना कर्मचारी प्रमुख जिल्ला अधिकारी छन् ।

आयोगको निर्णय यसप्रकार छ–‘‘प्रस्तुत विषयमा तहाँको च.नं. ११४१, मिति २०७४।०८।०४ को रा.प. द्वितीय श्रेणीका ६ जना कर्मचारीहरूको  काज सरुवा गरी आयोगको सहमतिका लागि लेखिएको पत्र आयोगमा मिति २०७४/०८/०५ मा प्राप्त भयो । आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको सिलसिलामा मिति २०७४।०५।१४ गतेदेखि निर्वाचन आचार संहिता लागू भइरहेको व्यहोरा विदित नै छ । निर्वाचन आचारसंहिता लागू भएको अवधिमा आयोगको सहमति नलिई सरुवा गर्न वा काज खटाउन नमिल्ने व्यहोरा निर्वाचन आचार संहिता २०७२ मा स्पष्ट रहेको छ । प्रस्तुत सन्दर्भमा तहाँबाट माग भएबमोजिमको काज सरुवाका लागि सहमति प्रदान नगरिएको र उक्त काज सरुवाको निर्णयको सक्कलै फाइल पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र आयोगमा उपलब्ध गराउनु हुनसमेत निर्वाचन आचार संहिता केन्द्रीय अनुगमन समितिको मिति २०७४।८।५ को निर्णयानुसार अनुरोध छ ।’’