शिक्षा

एमबीबीएस अध्ययन कोटा बढाउन लबिङ सुरु

काठमाण्डौ । काठमाडौं विश्वविद्यालय (केयू) ले दुई मेडिकल कलेजको एमबीबीएस अध्ययन कोटा बढाउन मेडिकल काउन्सिलमा लबिङ सुरु गरेको छ ।

केयू स्रोतका अनुसार विराटनगरको नोबेल र विराट मेडिकल कलेजको सिट थप गर्न काउन्सिललाई आग्रह गरेको हो । केयू र काउन्सिलले तोकेको विज्ञहरुको संयुक्त टोलीको निरीक्षण प्रतिवेदनको आधारमा यसवर्ष सिट निर्धारण गरिसकिएको थियो ।

यसकै आधारमा विद्यार्थीलाई काउन्सिलिङ गरेर काउन्सिलले निर्धारण गरेको सिटमा भर्ना समेत लिइसकेको छ । काउन्सिलले नोबेलको ९० र विराटमा ६५ सिट निर्धारण गरिसकेको छ ।

‘यसपालिको सीट निर्धारण केयू र काउन्सिलले खटाएको संयुक्त विज्ञ टोलीको प्रतिवेदनलाई आधार मानेर गरिएको हो,’ काउन्सिलका एक सदस्यले भने,‘फेरी पुनरावलोकन गर्ने निर्णय गरेछ । यसको स्वार्थ बुझ्न सकिएन ।’

बिहीबारको कान्तिपुरमा लेखिएको छ, विश्वविद्यालय प्राज्ञिक परिषद्को कातिक २८ को बैठकले काउन्सिलमा सिट संख्या पुनरावलोकनका लागि लेखी पठाउने निर्णय गरेको हो ।